फेरिपनि त्रिभुवन आर्मी झापा गोल्डकप च्याम्पियन

२०७८, १ चैत्र मंगलवार ०६:०८

झापा: डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ । बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोलले हराउँदै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि जितेको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापा ११ ले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ ।

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गर्नुभयो । फाइनल खेलको १८औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो । अर्को गोल २१औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गर्नुभएको थियो । मैदानको मध्य भागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा उहाँले गोल गर्नुभयो ।

तीन मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको तीन मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्ती मगरले हेडमार्फत् गोल गर्नुभयो । शिवे उल्रिचको क्रसमा उहाँले गोल गर्दै आर्मीसँग गोल अन्तर घटाउनुभयो । फाइनल खेलको म्यान अफ दी म्याच टेकबहादुर बुढाथोकी हुनुभयो । उहाँले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देवेन्द्र तामाङ घोषित हुनुभयो । उहाँले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउनुभयो । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्ती मगर हुँदै नगद २५ हजार प्राप्त गर्नुभयो । उहाँले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गर्नुभएको थियो । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिडफिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र बेस्ट कोच आर्मीका नवीन न्यौपाने घोषित हुनुभयो । उहाँहरूले जनही २१ हजार रुपैयाँ पाउनुभयो ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा-११ र सातवटा ‘ए’ डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपान्डा फुटबल क्लब, घरेलु टोली झापा-११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रिस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रूपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गर्नुभएको छ । फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गर्नुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु