आज रोल्पामा झडपका बावजुद मतदान सुरु

२०७९, ३० बैशाख शुक्रबार ०९:१४

रोल्पा: रोल्पाका सबै स्थानीय तहमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १० तहका ८१ मतदान स्थलमा उत्साहसाथ मतदाताले मतदान गरेका हुन्। माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गाउँ रोल्पा नगरपालिकाको माडीचौरमा रहेको मतदान केन्द्रमा विहानै मतदान गरेका छन्। उनीसँगै पुन पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि त्यसै केन्द्रबाट मतदान गरिन्। माओवादी केन्द्रकै नेता कृष्ण बहादुर महरा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगयत नेताले रोल्पामै मतदान गरेका छन्।

मुख्य निर्वाचन अधिकृत एवं रोल्पा जिल्लाका न्यायाधीश दिलिपराज पन्तले थवाङको उवा केन्द्र र परिवर्तन गाउपालिकामा केही समस्या भए पनि मतदान सुरु भएको बताए । ती स्थानमा माओवादी केन्द्र र कांग्रेस, एमाले लगायतको गठबन्धन पक्ष बीच अघिल्लो दिन देखि झडप भएका थिए। निर्वाचन सुरक्षाका लागि सबै स्थानमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले बताए। निर्वाचन सुरक्षाका लागि जिल्ला भर करिब २ हजार सुरक्षाकर्मी परिचालित भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

यसैबीच रोल्पाको थवाङ गाउँपालिकाको उवामा निर्वाचनको अघिल्लो दिन माओवादी केन्द्र र अन्य दलका कार्यकर्ताबीच झडप हुँदा तीन जना गम्भीर घाइते भएका छन्। माओवादी केन्द्रका कार्याकर्ताको आक्रमणबाट एमाले, कांग्रेस र नेत्रविक्रम चन्द समूहका कार्यकर्ता घाइते भएका हुन्। एमाले केन्द्रीय सदस्य नवीन रोका मगरले सुनियोजित ढंगले आफूमाथि आक्रमण भएको आरोप लगाए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु