मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि, आचारसंहिताविपरीत देशभर ३६ वटा घटना

२०७९, ३० बैशाख शुक्रबार ०७:०४

काठमाडौं: स्थानीय तह निर्वाचनको आचारसंहिताविपरीत गतिविधि गर्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि, तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । प्रदेश १ मा ३, मधेस प्रदेशमा ४, वाग्मतीमा २१, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा ३ र सुदूरपश्चिमबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आचारसंहिताविपरीत देशभर ३६ वटा घटना भएका छन् ।

आचारसंहिताविपरीत वितरण गर्न लागिएको मासु र पैसासमेत प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेशबाट ६ हजार नगद, कर्णालीबाट १ लाख १० र सुदूरपश्चिमबाट ८ हजार १ सय नगद बरामद भएको हो । प्रहरीका अनुसार मौन अवधि सुरु भएदेखि बिहीबारसम्म ८ वटा सवारीसाधन तोडफोड भएका छन् । दुई पक्षबीच झडप हुँदा ५० जना घाइते भएका छन् । प्रहरीले कर्णाली प्रदेशमा आचारसंहिताविपरीत २५ केजीको ८० बोरा चामल, ७ कार्टुन बियर, १० कार्टुन सफ्ट पेय पदार्थ, ५० केजी मैदा, २ कार्टुन डाइमन्ड रक्सी, १५ कार्टुन लिची रक्सीसमेत बरामद गरेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–६ किवामा मौन अवधिमा प्रचारप्रसार गरिरहेका एमाले नेता–कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । एमाले जिल्ला सचिवसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा र काठमाडौंबाट आएका एमाले नेता दुर्गा मैनालीसहितको टोली गाउँ पसेर पैसा बाँडेको आरोप लगाउँदै स्थानीयले नियन्त्रणमा लिएका हुन् । इलामको सन्दकपुर गाउँपालिकाका अध्यक्ष पदका एमाले उम्मेदवार उदय राईलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । जमुनामा राति पुगेका उनलाई आर्थिक चलखेल गर्ने संकेत देखिएपछि वडा सदस्य उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरी बल इलामका प्रमुख सुरेश सापकोटाले सुरक्षाका लागि उनलाई राखिएको बताए ।

सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा मतदाताको घरघर पुगेर पैसा बाँडेको आरोपमा बुधबार माओवादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लामा पक्राउ परेका छन् । उनको साथबाट मतपत्र र नगद बरामद भएको स्थानीयको भनाइ छ । निर्वाचन अधिकृत श्रीप्रसाद भट्टराईले उनलाई बिहीबारसम्म स्पष्टीकरण बुझाउन समय दिइएको बताए । बुटवल उपमहानगरपालिकामा एमालेका नगर प्रमुख उम्मेदवार बाबुराम भट्टराईकी पत्नीलाई मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोला गाउँमा मतदातालाई पैसा बाँडेको भन्दै कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार वीरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात रोका हतियारसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ थान खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार एमालेका राजन बीसी पनि मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार बीसीको झोलामा १ लाख १ हजार रुपैयाँ फेला परेको थियो ।

सर्लाहीको बलरा नगरपालिकामा बुधबार राति कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा बलरा–४ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाइते भएका छन् । एमाले कार्यकर्ता राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव सहनी पनि घाइते भएको प्रहरीले जनाएको छ । बसबरियामा निवर्तमान अध्यक्ष तथा कांग्रेसबाट अध्यक्षका उम्मेदवार रामअयोध्या राय घाइते भएका छन् । रायलाई एमाले कार्यकर्ताले कुटपिट गरेको कांग्रेस नेताहरूको आरोप छ । बसबरियामै जनता समाजवादीबाट अध्यक्षका उम्मेदवार राम सिंहासन यादवलाई पनि अन्य दलका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । धनकौलमा पनि कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार राति झडप हुँदा दुवै पक्षका ६ जना घाइते छन् । प्रहरी उपरीक्षक प्रवीण पोखरेलले विभिन्न स्थानमा झडपका घटना भए पनि बल प्रयोग गर्नुपर्ने अवस्था नआएको बताए ।

मोरङको कानेपोखरी गाउँपालिका–२ दलेली बजार नजिकै विपन्न बस्तीमा बुधबार राति मौन अवधिमा निस्केका एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । राष्ट्रिय युवा संघका मोरङ अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । दुवै पक्षबीच आचारसंहिताको उल्लंघन नगर्ने सहमतिपछि स्थिति सामान्य बनेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

पाल्पाको रैनादेवी छहरामा भएको झडपमा कांग्रेस कार्यकर्ता दामोदर पौडेल र एमाले कार्यकर्ता रिखीबहादुर थामी घाइते भएका छन् । प्रहरीले रिब्दीकोट गाउँपालिका–८ फेकमा रातिको समयमा मतदाता प्रभावित पार्न हिँडेको आरोपमा लु१च २१९५ नम्बरको पिकअप जिपलाई नियन्त्रणमा लिएको छ । एमालेनिकट कार्यकर्ताले गाडी लिएर हिँडेको सूचना आए पनि आफूहरूले नियन्त्रणमा लिएका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । कञ्चनपुरको लालझाडी गाउँपालिका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माओवादी केन्द्रकी सांसद बिना मगरले स्थानीयलाई भेला पारेपछि झडप भएको हो । झडपमा २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अधिवक्ता भेषराज पन्त हरेक निर्वाचनमा मौन अवधिमा के कस्ता अवैध गतिविधि हुन्छन् भन्ने सबैलाई जानकारी भए पनि तैं चुप मै चुप हुने गरेको बताउँछन् । मतदाता प्रभावित गर्न यो अवधिमा उम्मेदवारहरूले पैसा बाँड्ने, जित्नअघि नै विकासे योजनाको तमसुक गर्ने, खाद्यान्नलगायत वितरण गर्ने गैरकानुनी काम भइरहेको डडेलधुराको अजयमेरुका मतदाता धर्मवीर खड्काले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु