आजै राति ९ बजेबाट मत गणना- प्रमुख निर्वाचन आयुक्त

२०७९, ४ मंसिर आईतवार ०८:५५

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताएका छन् । भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।

उनले हिमाली जिल्लामा मतपेटिकाहरू आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए । उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु