विभिन्न वस्तुको भन्सार महसुलमा छुट

२०७९, २४ भाद्र शुक्रबार १५:४१

काठमाडौँ । सरकारले विभिन्न वस्तुको भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको हो ।

अव कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट हुनेछ । सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउने छन् । यस्तै भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले त्यस्ता सामग्री आयात गर्दा भन्सार महसुलको ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउने नयाँ व्यवस्था गरिएको राजपत्रमा उल्लेख छ । अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा पैठारी गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ । सो खण्डबमोजिम सिफारिस गर्दा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिणामका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ । साङ्ख्यिक रूपले नियन्त्रित बङ्ग्याउने, मोड्ने, सोझो पार्ने वा च्याप्टो पार्ने अन्य यन्त्रको पैठारी महसुल दर महलमा पाँच उल्लेख गर्नुपर्नेछ । वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क अब भने नलाग्ने भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु