सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए बैठक

२०७९, २३ श्रावण सोमबार ०९:४५

काठमाडौँ – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन्। आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन्। सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ।

सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ।

बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु