तानसेनको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने प्रतिबद्धता

२०७९, २१ कार्तिक सोमबार १०:४६

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले पाल्पाली जनता सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूप्रति देखाएको सद्भावले पनि आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी हुनेमा विश्वस्त रहेको बताए ।
‘अहिले जनताले नयाँ अनुहार खोजिरहेका छन् ।’ उनले भने ‘सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने छन् । निर्वाचित भएपछि तानसेनको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने गैरेले प्रतिबद्धता जनाउनुभयो । तानसेनलाई ऐतिहासिक शहरको रुपमा स्थापित गर्ने, यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधान गर्ने र उपभोक्ताका धारामा दैनिक खानेपानी उपलब्ध हुनेगरी काम गर्ने छौं । मतदाताको मागअनुसार सिद्धबाबा सडकमा सरल सहज यात्रा हुनेगरी निर्माण कार्यका लागि पहल गर्ने उनले बताए ।
क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावनालाई कदर गरेर सेवामुखी काम गर्ने बताए । तानसेनकै मतदाताहरुसँगको भेटघाटका क्रममा भट्टराईले तानसेनको आफैमा ऐतिहासिक महत्व रहेकोले तानसेनलाई थप व्यवस्थित सहरका रुपमा विकास गर्ने योजना रहेको बताए । क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्ती मगरले मस्यामको सिस्नेखोला जन्तीलुङ अर्खले, पाटन क्षेत्रका मतदाताहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरेका छन् । मतदाताहरुसँगै छलफलमा उनले सिंचाई, खानेपानी र सडक पूर्वाधारमा जनताले भोग्नुपरेका समस्या हटाउनका लागि पहल गर्ने बताए ।


क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्य आइतवार माथागढी गाउँपालिकाको रुप्से, कसेनी का मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहे । सो अवसरमा उनले रुप्से तथा कसेनी क्षेत्र कृषि तथा पशुपालनका हिसावले महत्वपूर्ण वडाहरुको रुपमा रहेकोले यहाँ व्यवस्थित कृषि पकेट कार्यक्रम सञ्चालन गरिने बताए । आफू प्रदेशसभा सदस्य रहेका बेला पनि यहाँ धेरै विकास योजनाहरु संचालन गरिएको बताउँदै उनले बाँकी योजनाहरुलाई आगामी ५ वर्षभित्र क्रमशः पूरा गर्दै जाने बताए ।


उनीसँगै क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारु पनि सोही क्षेत्रमा घरदैलो तथा टोलभेलामा व्यस्त रहेका छन् । त्यस्तै क्षेत्र नं. १(१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ पनि रामपुर नगरपालिकाका बिभिन्न वडाहरुमा मतदाता भेटघाटमा व्यस्त रहेका छन् । उनले रामपुर नगरपालिका र गण्डकीबेशी राम्रो सम्भावना रहेको क्षेत्र भएकोले यसलाई थप प्रवर्धन गर्दै लैजाने प्रतिबद्धता जनाए ।

Comments

ताजा खबर