सिमकोट: राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाबाट अन्तर जिल्ला पुग्ने यातायातको साधन भनेकै हवाई सेवा हो । तर, त्यो पनि पाँच दिनदेखि ठप्प छ । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा उडान ठप्प पारेका हुन् । जसको परिणाम हुम्लाको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । हुम्ला मात्र होइन कर्णाली प्रदेशका उच्च हिमाली सबै जिल्लाको अवस्था अहिले उस्तै छ । कर्णालीका अन्य हिमाली जिल्लामा पनि केही दिनयता उडान हुन सकेको छैन । हुम्लासहित मुगु, जुम्ला र डोल्पामा नियमित रूपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका हुन् ।
हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटेलहरूमा चर्को भाडा तिरेर टिकटका लागि भौतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन । कर्णालीका उच्च हिमाली जिल्लाहरूमा निजी एयरलाइन्सले सिण्डिकेट कायम राख्दा बेलाबेलामा जहाज नउड्ने समस्या हुने गरेको छ । हुम्लामा उडान नहुँदासमेत सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन् । हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ ।
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । विमानस्थल प्रमुख मोहन गिरीले निजी एयरलाइन्सका कर्मचारीले हुम्लाका लागि उडान भर्ने भनेर समयतालिका निर्धारण गरे पनि उडान हुन नसकेको बताउनुभयो । जहाज आएपछि मात्रै थाहा हुने र अन्य निजी जहाजले उडान भर्ने नभर्ने थाहा नहुने विमानस्थलका प्रमुख गिरीको भनाइ छ ।
टिकट वितरणमा पक्षपात
यता, सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमको एयरलाइन्सले भने नेपालगञ्जदेखि हुम्लाका लागि २१ हजार पाँच सयसम्म भाडा एक यात्रुबाट लिएको पाइएको छ । सहुलियत उडान कम गरिरहेको नेपाल एयरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै प्रतिव्यक्ति यात्रुबाट १६ हजारदेखि २१ हजार पाँच सयसम्म टिकट भाडा लिने गरेको स्थानीयले बताएका छन् । नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि हुम्लाको लागि सौलियतमा पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एयरलाइन्सले उडान नगर्दा नेपाल एयरलाइन्सले चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो । नेपालगञ्जदेखि अन्य निजी एयरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए । तर, नेपाल एयरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्ली नागरिक मारमा परेका छन् ।
निगमले नेपालगञ्जबाट हुम्लाका लागि कम उडान भर्दै आएको छ । अर्कोतर्फ टिकट वितरणमा समेत पक्षपात भएको स्थानीयको गुनासो छ । नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा मानोमानी ढंगले टिकट वितरण गरिरहेको उनीहरूको गुनासो छ । यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले हिमालय टाइम्ससँग आक्रोश व्यक्त गरेका छन् ।
लामो समयदेखि जिल्लाबाहिर रहे पनि निजी हवाई जहाजले उडान नभर्दा घर पुग्न नसकिएको विशाल परियारले गुनासो पोख्नुभयो । निजी एयरलाइन्सले नाफामुखी पूर्व–उडान भरेका कारण नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु अलपत्र परेको नेपालगञ्जमा रहनुभएका अर्का यात्रु कर्मा लामाले बताउनुभयो । यस्तै, टिकट नपाएर समस्या भएको स्थानीय संगीता फाडेराको गुनासो छ ।
हुम्लाकै मुख्यमन्त्री र मन्त्रीको बेवास्ता
कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर, महिनौँदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाएर अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।
नाफामुखी उडान भर्ने निजी एयरलाइन्सलाई प्रदेश सरकारमा रहेका मुख्यमन्त्री कार्यालय सुर्खेत र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हुम्लाको नियमित उडानका लागि कुनै वास्ता नगरेको भन्दै नेपालगञ्जमा जहाजको पर्खाइमा भौतारिएका हुम्लीले गुनासो पोखेका छन् ।
अहिले यहाँका निजी एयरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यक्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक/एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका छन् । यता, निजी विमान कम्पनीले उडान नगर्दा हुम्लामा खाद्यान्न आभाव सुरु भएको छ भने महँगी बढेको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…