नेपालमा पहिलो गाडी कहिले र कसरी ल्याइएको थियो होला ?

२०७८, २४ माघ सोमबार २२:५६

काठमाडौं: हाल नेपालमा ३५ लाख आसपासको संख्यामा सवारी साधन रहेका छन् । तर, नेपाल ल्याइएको पहिलो गाडी र यसको इतिहासबारे धेरैलाई थाहा नहुन सक्छ । पहिलो गाडी कहिले अनि कसरी ल्याइएको थियो होला ? यो सुन्दा र थाहा पाउँदा कतिलाई त पत्याउनै मुस्किल पर्ला । यसबारे रोचक कथा कतिले सुनेका पनि होलान् । आज यसबारे कुरा गरौं ।

नेपालमा पहिलोपटक गाडी भित्र्याउँदा काँधमा बोकेर ल्याइएको थियो भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, यो सत्य हो । इतिहासअनुसार राणाकालमा गेहेन्द्र शम्शेरले भरिया भेला पारेर काँधमा बोकाएर पहिलोपटक गाडी त्यसबेलाको नेपाल (हालको काठमाडौं) भित्र्याएका थिए । गाडीका सौखिन राणाहरूले आफ्नो प्रयोगका लागि यसरी ठूलै दुःख गरेर गाडी ल्याएका थिए । उनले ‘फोर्ड’ कम्पनीको गाडी नेपाल ल्याएका थिए ।

तर, त्यसरी बोकेर नेपाल ल्याएको गाडीमा बत्ती थिएन । यद्यपि, गेहेन्द्र शम्शेर स्वयं वैज्ञानिक भएकाले उनले आफैँ गाडीमा बत्ती जडान गरेका थिए । उनी गाडीका सौखिन भएकाले गाडीमा केही फिचर आफैँ थपेका पनि थिए ।

इतिहासमा यो दाबी गरिएको छ कि, नेपालमा गाडी चढ्ने पहिलो प्रधानमन्त्री वीर शम्शेर हुन् । इन्द्र जात्राका दिन राणा प्रधानमन्त्री श्री ३ वीर शम्शेरले नेपाल भित्रिएको पहिलो गाडी एक भव्य समारोहबीच चढेको बताइन्छ । तर, इतिहासमा यो पनि दाबी गरिएको छ कि, गेहेन्द्रले काठमाडौं गाडी भित्र्याउनुभन्दा अघि नै नेपालको चितवनसम्म गाडी आइसकेको थियो । चन्द्र शम्शेरको पालामा चितवनको कसरासम्म एक अंग्रेजले सिकार खेल्न आउँदा गाडी नै लिएर आएका थिए । वि.सं. १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड सिकार खेल्न भारतबाट चितवन कसरा आउँदा उनले आफ्नै गाडी सँगै लिएर आएको इतिहास छ ।

उनैको गाडी देखेपछि पछि राणाहरूले पनि लोभिएर गाडी भित्र्याएका थिए । उक्त गाडी काठमाडौंसम्म बोकेरै ल्याइएको थियो । काठमाडौंमा गाडी ल्याउनकै लागि पर्साको वीरगन्जदेखि मकवानपुर भीमफेदीसम्म नयाँ सडक खनेर तयार पारिएको थियो । पछि सोही बाटोबाट सर्वसाधारणले काँधमा बोकाएर काठमाडौंको गोदामचौरसम्म सम्म गाडी लगेका थिए ।

इतिहासअनुसार वि.सं. २०१३ सालमा त्रिभुवन राजपथ काठमाडौंसँग जोडिएपछि काँधमा गाडी बोकेर ल्याउन छाडिएको थियो । नत्र, त्योभन्दा अघिसम्म जति पनि गाडी ल्याइयो, सबै काँधमै बोकेर ल्याइएको थियो । नेपालमा गाडी भित्रिएको आज एक शताब्दी नाघिसकेको छ

नेपालमा पहिलोपटक गाडी चढ्ने व्यक्ति त्यसबेलाका प्रधानमन्त्री श्री ३ वीर शम्शेर भए पनि पछि त्यो गाडी राजाले मागेर आफैंसँग राखे । एक दिन वीर शम्शेर गाडी देखाउनकै त्यसबेलाका राजा पृथ्वी वीरविक्रमकहाँ गएका थिए । तर, गाडी देखेर अचम्ममा परेका राजाले वीर शम्शेरसँग गाडी मागेर आफैंसँग राखेको इतिहास छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु