मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

२०७९, २१ श्रावण शनिबार ०९:४९

२१ साउन । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, बागमती र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहितमध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, बाग्मती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरोको जोखिम रहेको बुलेटिनमा उल्लेख छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Comments

ताजा खबर