बढ्दो दूरी, एक्लिँदै ज्येष्ठ नागरिक

सिन्धुली: घरमा श्रीमान् थिए । समाजमा ओजिलो शान थियो । आनन्ददायी थिए ती दिनहरू । श्रीमान् रोगले थलिए । खेतबारी उपचार गर्दै सकियो । साथमा न माड रह्यो न माया । तर, हिम्मत हार्नुभएन । ४० वर्ष अर्काकोमा काम गरेर जीवन धान्नुभयो । ती संर्घषशील नारी हुनुहुन्छ, ७२ वर्षीया सिन्धुली दुधौली नगरपालिका-३ निपानेकी फूलमतिया अधिकारी दनुवार । बुढ्यौली लाग्यो । अहिले तन र मनले सहारा खोज्छ । भन्नुहुन्छ, ‘बेटाबेटी नई भेलो, हम्रा ताका कोन नइछो ! भतिजा भतिजी मन लग्तो ताक्तो, नई लग्तो त नई ताक्तो ।’

कुरा हो, १० माघ २०७८ को । बेलुकीको खान खाएर ओछ्यानमा पल्टिनुभयो । रातभर आँखा झिमिक्क भएनन् । कारण, ज्वरो हनहनी आयो, पेट कटक्क दुखेर पखाला चल्यो । चर्पी जान नसकेर फोहोरमै डुब्नुभएकी फूलमतिया बिहान अबेरसम्म उठ्न सक्नुभएन । स्याहारसुसार गर्ने कोही भएनन् । यो घटनादेखि उहाँ निराश हुनुहुन्छ । ‘अहिले त अम्खरामा पानी बोकेर भए पनि खाँदैछु, नसक्दाको पीर लाउँछ,’ उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-११, बुडोलकी ७१ वर्षीया बुद्धलक्ष्मी दाहालको सन्तान त भए, साथ भएन । १० वर्ष भयो, छोराबुहारीहरू सम्पर्कमा छैनन् । सौता ल्याएर टाढिएका श्रीमान्को अत्तोपत्तो छैन । ‘परिवार जम्मा भए दुई धोक्रोे चामलले पुग्दैन, नानी ¤ उहाँले भन्नुभयो, ‘बाह्र छोरा तेह्र नाति बुढोको धोक्रो काँधै माथि’ भएर के गर्नु ?’ बेसहारा भएकै कारण समाजबाट पनि हेपिएको अनुभव छ उहाँसँग । ‘एक्लै छु । आफ्नाले घाउ बनाएर गए, अरूले झनै नुनचुक छर्ने रहेछन्,’ उहाँले सुनाउनुभयो । ‘नर्सरीमा गएर एक्लै रुन्छु, जीवनदेखि विरक्त चल्छ, पटकपटक घरमुनि गएर घाँटीमा डोरी लगाएर झुण्डिएको पनि छु । तर, मलाई काल लिन आएन,’ उहाँले आफ्नो पीडा पोख्नुभयोे ।’

‘दिउँसो मागेर गुजारा चलाउने राति सडक पेटीमा सुतेर बिहान देख्ने ।’ लतिलपुरको लामाटारका ७७ वर्षीय हरि तिमल्सिनाको दैनिकी यस्तै छ । पाँच सन्तान छन् । उनीहरूलाई खेती किसानी गरेर उच्च शिक्षा पढाउने र विवाहसम्मको अभिभावकीय जिम्मेवारी पूरा गर्नुभयो । बुढेसकालमा भने एक्लो हुनुहुन्छ । ‘बुढो भइयो, रोगले छोएपछि काम गर्न सकिएन, छोराबुहारी र श्रीमतीले बोझ मान्न थाले, राम्रो व्यवहार भएन,’ उहाँले भन्नुभयो, ‘मेरो मन दुख्यो, सडकमा आएँ ।’ २० वर्षदेखि सडकमा जीवन बिताइरहेको उहाँले बताउनुभयो । ‘कसैले केही दिए खान्छु । नदिए भोकै बस्छु । भोक सहने बानी परिसकेको छ, उहाँले बताउनुभयो ।’

सिन्धुलीको तीनपाटन गाउँपालिका–१ शाखामाढीकी ७० वर्षीया चमलादेवी कार्कीको घरमै लडेर मेरुदण्ड भाँचिएको १० वर्ष बित्यो । कम्मरमुनिको भाग चल्दैन । ७ चैत २०७८ मा भेट्दा सकी नसकी हृवीलचियर आफैँ गुडाउँदै हुनुहुन्थ्यो । दुई छोरा छन् । उहाँ कान्छो छोरासँग बस्नुहुन्छ । छोरा र नाति नातिना रोजगारी र पढाइका सिलसिलामा प्रायः घरबाहिर हुन्छन् । बुहारीलाई मेलापात गर्न भ्याइनभ्याई हुन्छ । कार्कीलाई बुढेसकालमा भएको अपांगताले झनै पूर्ण रूपमा परनिर्भर बनाएको छ । ‘दिनभरि एक्लो हुन्छु, मनमा धेरै कुरा खेल्छ, होसै उडे जस्तो हुन्छ, उहाँले भन्नुभयो । एक वर्षअघि श्रीमान्ले संसार छोड्नुभयो । ‘बुहारीले खान त दिन्छिन् तर स्याहार गरेर बसिरहन भ्याउँदिनन् । बुहारी नभएको समयमा शौचालय जानुपर्दा अत्यास लाग्ने उहाँले बताउनुभयो ।

दोलखाको बैतेश्वर गाउँपालिका-६, वनगाउँका ७५ वर्षीय माइला बाजे र ७४ वर्षीय माइली बज्यैलाई छोरा बुहारीले घर कुरुवाको जिम्मेवारी दिएका छन् । किनकि, उनीहरू अमेरिकामा छन् । बैतेश्वर र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ मा एक/एकवटा घर छ । बुढाबुढी आलोपालो गरेर बस्छन् । ‘नातिनातिना खेलाउन नपाउँदा मन खिन्न भइरहेको छ । उनीहरू हुन्थे भने घर नै उज्यालो हुन्थ्यो,’ बजैले भन्नुभयो । गाउँको घर भाडामा लागेको छैन । सहरको घरबाट आएको भाडाले बुढाबुढीको खर्च टर्छ । बाजेले भन्नुभयो, ‘बुढेसकालमा त्यतिले मात्रै नपुग्ने रहेछ । सन्तानको सहारा चाहिने रहेछ ।’

सिन्धुलीको सुनकोशी गाउँपालिका-७ का ७३ वर्षीय केशवकुमार सुनुवार दम्पती गाउँमा घर कुरेर बस्नुभएको छ । छोराछोरी काठमाडौंमा बस्छन् । ‘छोराछोरी र नातिनातिना नभएको घर रित्तो लाग्छ, उनीहरू सबै साथमा हुँदा पिठो नि मिठो हुथ्योे, अहिले त केही रुच्दैन,’ उहाँले भन्नुभयो ।

बढ्दो दूरी, एक्लिँदै ज्येष्ठ नागरिक

पैसा, कार, बंगला, ब्राण्डेड लुगा आदिको तडकभडकबाट मान्छेको सम्मान बढ्ने परिपाटीले नयाँ पुस्ता आर्थिक उपार्जनको धपेडीमा फसिरहेका छन् । समाज एकांगी र व्यक्तिवादी बन्दै जाँदा बुबाआमाको बुढेसकाल एक्लो मात्र बनेको छैन, समाजमा जटिल समस्या देखिन थालेका छन् । समाजशास्त्री रामेश्वर बरालको विश्लेषणमा, ‘पहिलाको नेपाली समाज कृषिमा आश्रित थियो । संयुक्त परिवार थियो । तर, अहिले परम्परा, मूल्यमान्यता, चालचलन, रीतिरिवाजमा परिवर्तन आयो । यसमा प्रविधिले प्रभाव पार्‍यो । हजुरबा र हजुर आमासँग नातिनातिना बस्न सक्ने अवस्था रहेन । सहरी शिक्षा चाहियो । मानिसहरू सहरमुखी भए । अलिकति व्यवसायीमुखी, पुँजीवादीकरणले रोजगारी प्राप्त गर्न टाढा जान बाध्यता भयो । निजीकरण बढ्यो । युवाहरू गाउँबाट सहरतिर पलायन हुन थाले । हुर्किएपछि गुँड छाडेर बचेराहरू उडेजस्तै मानिसका छोराछोरी विविध कारणले टाढिएका छन् । गुँडमा चरा मात्रै रहेको जस्तो घरमा ज्येष्ठ नागरिक मात्र भएका छन्,’ उहाँले भन्नुभयो, ‘यो राज्य र राजनीतिको कमजोरीका कारण सिर्जित समस्या हो ।’

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले ‘एकल पारिवारिक संरचनाको बढ्दो विस्तार, वैदेशिक रोजगारी र सहरिया जीवनशैलीका कारण ज्येष्ठ नागरिक घरभित्रै निराश र शुष्क जीवन बाँच्न बाध्य भएको बताउनुभयो । ‘अझ कोही पनि र केही पनि नभएका ज्येष्ठ नागरिकको बुढेसकाल कहाली लाग्दो छ,’ उहाँले भन्नुभयो ।

आमाबुबा छोराछोरीको घर र मनभित्रै अटाउनुपर्नेमा उहाँको जोड छ । यसका लागि राज्यलाई दबाब दिइने र उपयुक्त नीति निर्माणका लागि महासंघले पहल गरिरहेको उहाँले बताउनुभयो । संविधान तथा ऐन–कानुनमा ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषण गर्नु हरेक नागरिकको कर्तव्य हुने, राज्यले विशेष संरक्षण दिने व्यवस्था छ । तर, यो कागजी व्यवस्था कार्यान्वयनमा फितलो छ  । १५ वर्षयता ज्येष्ठ नागरिकबारे अनुसन्धान, तालिम तथा नीति नियमका क्षेत्रमा काम गरिरहेका एजिङ नेपालका अध्यक्ष चट्याङ मास्टर कृष्णमुरारी गौतमले भन्नुभयो, ‘नेपालमा प्रत्येक दिन एउटा ज्येष्ठ नागरिकको बेवारिसे लाश फेला पर्छ । उनीहरू सबैको घर परिवार थिएनन्÷छैनन् भन्ने होइन । तर, मर्ने बेला एक घुट्की पानी खुवाउने कोही पनि पाउँदैनन् ।’

२०६८ सालको जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक करिब ३० लाख छन् । सरकारले गरेको ‘नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण (एजिङ नेपाल सर्भे) २०१४’ ले नेपालका ९१.२ प्रतिशत ज्येष्ठ नागरिकका छोराछोरी आफूसँग नरहेको देखाएको छ । यीमध्ये ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन् । सर्वेक्षणमा ८७ प्रतिशत ज्येष्ठ नागरिकले औषधोपचारको सहयोग अपेक्षा गरेका छन् । ८० प्रतिशतले सुरक्षित आवास र रुचि अनुसारको खाना तथा ६६.७ प्रतिशतले व्यक्तिगत हेरचाह भएको भए जीवन सुखमय हुने थियो भनेका छन् । देशभरका ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्तामा आधारित रहेर सर्वेक्षण गरिएको थियो । यस्तै अर्को एक अध्ययनअनुसार १२ प्रतिशत ज्येष्ठ नागरिक एक्लो (श्रीमान् बितेको वा श्रीमती बितेको) छन् । हाम्रो समाजमा पुरुषभन्दा कम उमेरको महिला विवाह गर्ने प्रचलन छ । पुरुषहरूभन्दा महिलाहरू पाँच वर्ष बढी बाँच्छन् । यसकारण एक्लो हुनेमा पुरुषभन्दा बढी महिला छन् । ६० प्रतिशत महिला श्रीमान् बितेर एक्लो बनेका छन् । एजिङ नेपालका अध्यक्ष चट्याङ मास्टर भन्नुहुन्छ, ‘तथ्यांकहरू परिवर्तन भइरहन्छन् । अनुसन्धान हुनुपर्नेमा सरकारले त्यसो गरेको छैन ।’

‘अमर्यादित तथा अमानवीय व्यवहार भए गरेमा स्थानीय तह र नेपाल प्रहरीमा उजुरी दिन सक्नेछन्,’ ज्येष्ठ नागरिक ऐनमा भनिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार २०७४/०७५ देखि २०७८/०७९ (हालसम्म) एक सय ७५ जना ज्येष्ठ नागरिकले घरेलु हिंसामा उजुरी दिएका छन् । यसैगरी, ७० जना ज्येष्ठ नागरिकहरू हराएका छन् । आत्महत्या गर्ने ज्येष्ठ नागरिकहरूको संख्या बर्सेनि बढ्दो छ । २०७४/०७५ देखि २०७८/०७९ (हालसम्म) चार सय ६३ जना ज्येष्ठ नागरिकहरले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

राज्यको सन्तुलित भूमिका हुनुपर्छ

मनोचिकित्सक डाक्टर वासुदेव कार्कीका अनुसार एक्लिँदो प्रवृत्ति बढ्दै जाँदा ज्येष्ठ नागरिकहरू बेसहारा मात्र भएका छैनन्, शारीरिक र मानसिक स्वास्थ्य समस्याहरूले भय रूप लिँदै छ । समाजमा उनीहरूको संघर्ष, अनुभव र योगदानको मूल्यांकन हुने परिपाटी विस्तारै कम हुँदै गएको छ । ज्येष्ठ नागरिकलाई मनको कुरा सुन्ने र अनुभव साट्ने ठाउँको कमी छ । ‘हामी आत्मकेन्द्रित हुँदै गएका छौँ । यसबाट उहाँहरूको भावनामा चोट पुग्दै गएको छ,’ उहाँले भन्नुभयो ।

स्थानीय तह के गर्दै छन् ?

बागमती प्रदेशका स्थानीय तहहरूले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्छन् । कमलामाई नगरपालिकाले ४० जना ज्येष्ठ नागरिकलाई तीर्थस्थल भ्रमण गराएको, सय वर्ष माथिका २१ जनालाई दैनिक एक लिटर दूध वितरण गर्दै आएको निरन्तर, दन्त सेवा, निःशुल्क बिमा जस्ता कार्यक्रमहरूलाई अगाडि बढाएको जनाएको छ । नगर सामाजिक विकास शाखाका नासु बबिन्द्रलाल माझीका अनुसार पाँचवटा वडामा ज्येष्ठ नागरिक भेटघाटस्थल निर्माण गरिएको छ । उत्कृष्ट ज्येष्ठ नागरिक स्याहारकर्तालाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, स्थानीय तह कार्यान्वयनमा आएसँगै घ्याङ्लेख गाउँपालिकाले नौ लाख बराबरको ३५० जना ज्येष्ठ नागरिकलाई सिरक, डस्ना, न्यानो कपडा र हर्लिस वितरण गरेको उपाध्यक्ष दुर्गादेवी सुनुवारले सुनाउनुभयो । सुनकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचय पत्र वितरण र ८५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरेकोे छ । तीनपाटन गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य जाँचलगायत घरदेखि घाटसम्म जस्ता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

के गर्दैछ प्रदेश सरकार

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ ज्येष्ठ नागरिक केन्द्रहरूमा स्वास्थ्य स्वयम सेवकको व्यवस्था गर्ने, दिवसीय कार्यक्रम सञ्चालन, वृद्धाआश्रम÷दिवा सेवा केन्द्रको सञ्चालन तथा भौतिक पूर्वाधार विकास गर्न सहयोग गर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सामग्री व्यवस्थापनमा सहयोग गर्ने भएको छ । पाँच वटा दिवा सेवा केन्द्रको भौतिक पूर्वाधार सामग्री सहयोग तथा अन्य व्यवस्थापकीय क्षेत्रहरूमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत सिपाडोल परोपकार भवन, भक्तपुर, चर्नावतीधाम दोलखा, दिवासेवा केन्द्र तेमाल, काभ्रे देविघाट वृद्धाश्रम नुवाकोट, दिव्य सेवा निकेतन हेटौँडाको लागि ८५ लाख बजेटको प्रवन्ध मिलाएको छ । यस्तै, वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिक स्याहारकर्ताहरूको लागि तालिम गर्ने कार्यक्रम छ ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, ज्येष्ठ नागरिक लक्षित संस्थागत संरचना, सेवा र सुविधा, ज्येष्ठ नागरिक परिचय पत्र कानुनी अधिकार र सर्वसुलभता, सार्वजनिक सेवाको पहुँचमा ज्येष्ठ नागरिकको प्राथमिकता, ज्येष्ठ नागरिक लक्षित बजेट विनियोजन र कार्यान्वयन ज्येष्ठ नागरिकका मुख्य सवालहरू हुन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago