विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ- ओली

२०७८, २९ चैत्र मंगलवार २०:०१

काठमाडौँ: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन् ।

एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गरे ।

विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । उनले भने, `अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।`

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उनले बताए । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उहाँले बताए ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताए ।

आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उनको दाबी थियो । ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उनले उल्लेख गरे ।

एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताए । रासस

Comments

ताजा खबर