काठमाडौं: जीवनका अन्तिम दिनहरूमा महात्मा गान्धी आफ्नै मृत्युको पूर्वानुमान यसरी गरिरहेका थिए कि लाग्थ्यो उनी स्वयम् आफ्नो हत्याको षड्यन्त्रमा संलग्न छन्।
सन् १९४८ को ज्यानुअरी २० मा उनको हत्याको पहिलो प्रयास भएपछि १० दिनसम्म उनले आफ्नो कुराकानी, पत्र र प्रार्थनासभाका भाषणहरूमा कम्तीमा १४ पटक आफ्नो मृत्युको बारेमा उल्लेख गरे।
“यदि कसैले मलाई निकै नजिकबाट गोली हान्छ र त्यस समय मैले मनमा रामनाम जपेर मुस्कुराउँदै गोलीको सामना गर्छु भने म बधाईको पात्र छु,” उनले ज्यानुअरी २१ मा भनेका थिए। त्यसको भोलिपल्ट उनले भने, “यदि मसँग त्यसो भयो भने त्यो मेरो सौभाग्य हुनेछ।”
सन् १९४८ को ज्यानुअरी २९ को साँझ इन्दिरा गान्धी, जवाहरलाल नेहरूकी बहिनी कृष्णा हठी सिंह, नयन तारा पण्डित र पद्मा नायडु गान्धीलाई भेट्न बिरला हाउस गए।
क्याथरिन फ्र्याङ्कले इन्दिरा गान्धीको जीवनीमा लेखेकी छन्, “घरबाट निक्लिनुअघि इन्दिरा गान्धीलाई उनका मालीले कपालमा सिउरिनका लागि चमेली फूलको एउटा गुच्छा दिए। इन्दिराले त्यो फूल गान्धीलाई दिने निधो गरिन्। बिरला हाउसमा उनीहरू चौरमा बसेका थिए, गान्धी त्यहाँ एउटा कुर्मीमा बसेर घाम तापिरहेका थिए।”
उनी लेख्छिन्, “चार वर्षीय राजीव केही बेर त पुतलीको पछाडि दौडिए तर फेरि गान्धीको खुट्टा छेउमा आएर बसे र इन्दिराले ल्याएको चमेलीको फूल उनको औँलाहरूबीच राख्न थाले।” गान्धीले हाँस्दै राजीवको कान समाते र भने, “यसो नगर। मरेको व्यक्तिको खुट्टामा मात्रै यसरी फूल राखिन्छ।”
सन् १९४८, ज्यानुअरी ३०। गान्धी सधैँ जसो बिहानको साढे ३ बजे उठे र बिहानको प्रार्थनामा सहभागी भए। त्यसपछि उनले मह र कागती मिसाएको पानी पिए र फेरि सुत्न गए। उठेर व्रजकृष्णलाई आफ्नो मालिस गर्न लगाए र बिहानै आएको पत्रिका पढे।
त्यसपछि उनले काङ्ग्रेसको भविष्यबारे आफूले लेखेको टिपोटमा केही परिवर्तन गरे अनि बङ्गाली भाषा सिक्ने क्रमलाई निरन्तरता दिए। नास्तामा उनले उसिनेको तरकारी, बाख्राको दूध, मुला, गोलभेँडा र सुन्तलाको जुस पिए।
उता सहरको अर्को कुनामा बिहानको ७ बजे पुरानो दिल्ली रेलवे स्टेशनको ६ नम्बरको प्रतीक्षालयमा जब नारायण आप्टे र विष्णु करकरे पुगे, त्यति बेलासम्म नाथुराम गोडसे उठिसकेका थिए।
बुर्का लगाएर जाने प्रयास असफल
डोमिनिक ल्यापिएर र ल्यारी कोलिनले आफ्नो किताब ‘फ्रीडम एट मिडनाइट’मा लेखेका छन्, “कसैले नाथुरामलाई बुर्का लगाएर गान्धीको प्रार्थना सभामा जाने सुझाव दिएको थियो। त्यसका लागि उनले बजारबाट एउटा ठूलो बुर्का किनेका पनि थिए। त्यसलाई लगाएर हेर्दा नाथुरामलालाई यो जुक्तिले काम गर्दैन भन्ने लाग्यो। उनको हात खुकुलो बुर्काको पट्टीमा अल्झिराख्थ्यो।”
“उनले भनेका थिएः यो लगाएर त म आफ्नो पेस्तोल नै निकाल्न सक्दिनँ र म महिलाको भेषमा पक्राउ परेँ भने जीवनभर बदनामी हुनेछ। अन्त्यमा आप्टेले भनेः कहिलेकाहीँ सीधा तरिका नै सबैभन्दा ठिक हुन्छ।”
“उनले नाथुरामलाई फौजीको जस्तो स्लेटी सुट लगाउन अह्राए जुन त्यस समय निकै लोकप्रिय थियो। उनीहरू बजार गए र नाथुरामका लागि उक्त कपडा किनेर ल्याए। नाथुराम गोडसेले आफ्नो पेस्तोल निकाले र त्यसमा सातवटा गोली भरे।”
गान्धीलाई तीन पटक प्रहार
उता गान्धी र पटेलबीच पटेल र नेहरूबीच बढ्दो मतभेदबारे चर्चा भइरहेको थियो। उक्त चर्चा यति गम्भीर भयो कि गान्धीलाई प्रार्थनासभामा जान ढिला भइसकेको थिए। त्यस बहसको क्रममा गान्धीले आफ्नो बानीअनुसार धागो कातिरहेका थिए। साँझ सवा ५ बजे उनी बिरला हाउसबाट निस्किएर प्रार्थनासभातर्फ निस्किए।
ढिलो भएकाले उनी छोटो बाटो गए। रामचन्द्र गुहाले आफ्नो किताब ‘गान्धी द यीयर्स द्याट चेन्ज्ड द वर्ल्ड’मा लेख्छन्, “गान्धी प्रार्थनास्थलका लागि बनाइएको मञ्चको सिँढीनजिकै पुगेका थिए। त्यतिबेला खाकीको लुगा लगाएका नाथुराम गोडसे उनीतिर गए। उनको इसारा गान्धीको खुट्टा छुन खोजेको जस्तो देखिन्थ्यो।”
“आभाले उनलाई रोक्ने कोसिस गरिन् तर उनले आभालाई धक्का दिए र उनको हातबाट गान्धीको नोटबुक, थुकदानी र माला भुइँमा खस्यो। त्यतिबेलै गोडसेले आफ्नो पेस्तोल निकाले र गान्धीमाथि ‘पोइन्ट ब्याक’ रेन्जमा लगातार तीन पटक प्रहार गरे। तीमध्ये एक गोली गान्धीको छातीमा र बाँकी दुइटा गोली पेटमा लाग्यो।”
“गान्धी भुइँमा लडे र उनको मुखबाट ‘हे राम…’ निस्कियो। रगत लतपतिएको धोतीमा मनुले गान्धीको घडी देखिन्। त्यतिबेला घडीले ५ बजेर १७ मिनेट देखाएको थियो। गान्धी लड्नेबित्तिकै सुशीला नयरका एक सहयोगी डाक्टरले उनको टाउको आफ्नो काखमा राखेका थिए।”
रामचन्द्र गुहा लेख्छन्, “उनी मरिसकेका थिएनन्। उनको शरीर तातो थियो र उनको आँखा आधा बन्द थिए। गान्धीलाई मृत घोषित गर्ने हिम्मत थिएन ती डाक्टरसँग। तर भित्रभित्रै उनले गान्धी जीवित नरहेको महसुस गरिसकेका थिए।”
“गान्धीलाई भेटेर सरदार पटेलले आफ्नो घर पुग्नासाथ आक्रमणबारे खबर पाए। उनी तुरुन्तै आफ्नी छोरी मणि बेनसँग पुनः बिरला हाउस पुगे। उनले गान्धी जिउँदै छन् कि भन्ने आशाका साथ उनको नाडी छामे। त्यहाँ उपस्थित एक डाक्टर बीपी भार्गवले त्यतिन्जेल गान्धीको मृत्यु भएको १० मिनेट भइसकेको घोषणा गरे।”
“ठिक ६ बजे भारतवासीले आफूलाई स्वतन्त्रता दिलाउने साधारण र कोमल स्वभावका मानिसले यस संसार त्यागेको थाहा पाए। समाचारमा हत्या गर्ने व्यक्ति हिन्दू भएको कुरा बारम्बार दोहोर्याइएको थियो।”
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…