नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका

२०७८, १८ माघ मंगलवार १६:१५

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका उडेकी छन् । उनी श्रीमान्, छोरी र छोरासहित सोमबार राति अमेरिका उडेकी हुन् ।एकसमय लोकदोहोरीमा विशेषगरी प्रेम विरही गीतका भिडियोमा उनी सर्वाधिक खोजिने मोडलमा पर्थिन् ।
‘क्षितिजपारि उनको बस्तीमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘घामले नि पोल्दियो’, ‘सानु कहाँ छौं’, ‘त्यो मन रुन्न होला र ?’, ‘प्रीतिको फूल’ जस्ता उनको अभिनय रहेका दर्जन गीतको भिडियोलाई दर्शकले रुचाएका थिए । विशेषगरी गायिका विष्णु माझीको स्वर रहेका गीतको भिडियोमा उनको अभिनय हुन्थ्यो ।
डेढ दशकभन्दा लामो समयदेखि मोडलिङमा सक्रिय रञ्जिताका पछिल्लो समय पनि एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका थिए । पछिल्लो समय ‘बन्दीपुरैमा’ उनको अभिनय रहेको पछिल्लो चर्चित गीत हो । दुई महिनाअघि सार्वजनिक भएको लोकगायक प्रेमराजा महतको यस गीतमा रञ्जिता उनीसँगै देखिएकी छन् ।
सफल चलचित्र ‘गोर्खा पल्टन’मा रञ्जिताले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । उनलाई बिदाइ गर्न लोकदोहोरी मोडल महेन्द्र गौतम, निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) लगायत एयरपोर्ट पुगेका थिए ।
बिदाइको क्रममा रञ्जिताले आफू सन्तानको भविष्यका लागि पनि अमेरिका जान लागेको बताइन् । दर्शकले आफूलाई दिएको मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि काम गर्ने कोशिश रहने बताएकी छन् । लोकदोहोरी क्षेत्रमा कुनै समय चर्चामा रहेका अन्य केही मोडलहरु पनि यतिबेला अमेरिकामा छन् । पार्वती राई, रश्मी तामाङ लगायतका मोडलहरुले केही वर्षअघि नै अमेरिकालाई कर्मथलो बनाइसकेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु