कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री गहतराज

२०७८, ४ मंसिर शनिबार ११:३३

नेपालगन्ज ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।

फाइल फोटो

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिट्ठी फुकेका थिए। म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिलाई चलायमान बनाउने समय आएको धारणा राखेका थिए।

नेपालगन्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरू समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रूपमा सूचीकृत गराउन पहल गर्ने बताए। ‘राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको मन्त्री अथकले बताए।

म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको सहर भएको बताए। विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी व्यक्त गरे। स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु