विदेशी अध्यागमनमा नेपालीमाथि अपमान नेपाल अपराधीका लागि स्वर्ग

२०७८, २७ असार आईतवार ०४:३५

नक्कली कागजपत्र सम्बन्धी अपराधमा दुई प्रवृत्ति देखिन्छन् । पहिलो, मेसिन नै प्रयोग गरेर नेपालमा नक्कली शैक्षिक प्रमाणपत्र बनाइन्छ र अरू मुलुकमा त्यसको प्रयोग हुन्छ । कतिपय अवस्थामा विशिष्ट श्रेणी नल्याएसम्म राम्रो कलेजमा भर्ना हुन मिल्दैन । त्यसका लागि पनि किर्ते कागज तयार गर्ने गरिन्छ ।

नेपालभित्रकै प्रयोजनका लागि विभिन्न कार्यालयका सरकारी कागजपत्र, नागरिकता, बिहे दर्ता, नाता प्रमाणीकरणको प्रमाणपत्र जस्ता कागजात बनाउने गरिएको देखिन्छ ।

दोस्रो चाहिं, भारतबाट सीधै प्रमाणपत्र खरीद गरेर ल्याउने गरिन्छ । विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ ।

नेपालमा रातो पासपोर्ट सम्बन्धी अनुसन्धान चर्चित छ । त्यसमा पनि मेसिन रिडेबल पासपोर्ट नहुँदा फोटो परिवर्तन गरेर प्रयोग गर्ने गरिएको थियो ।

पछिल्लो समय पासपोर्ट परिष्कृत हुँदै गएको छ, गुणस्तर बढ्दै गएको छ । खासमा सरकारी कागजपत्रको सुरक्षाको विषयमा लामो समयदेखि ‘रिभिजन’ भएको छैन ।

शैक्षिक प्रमाणपत्रमा होलोग्राम राखिंदा मात्रै पनि सहजै नक्कली कागज तयार गर्न समस्या थियो । यद्यपि अहिले होलोग्राम मेसिन नै बरामद हुन थालेका छन् । हुन त त्रिभुवन विश्वविद्यालयले नै दिएको कतिपय लब्धाङ्क पत्रमा पनि होलोग्राम नभएको पाइएको थियो ।

भ्रष्टाचार मुद्दामा अदालतमा धरौटी राख्दा पनि जग्गालाई बढी मूल्यांकन हुने कागजात बनाउने गरेको पाइन्छ । यो हदसम्म छ समस्या ।
प्रहरीसँग भएका नक्कली शैक्षिक प्रमाणपत्रको हकमा कुरा गर्दा म पनि एउटा छानबिन समितिमा थिएँ । त्यसक्रममा हरेक तहमा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग भएको भेटिएको थियो ।

प्रहरी जवानका लागि कक्षा ८ पास गरेको योग्यता हुनुपर्ने प्रावधान थियो । त्यसमा ९० प्रतिशत उम्मेदवारले फर्जी प्रमाणपत्र ल्याउने गरेका थिए । सम्बन्धित विद्यालयले नै प्रमाणपत्र दिने भएकाले धेरै फर्जी प्रमाणपत्र भेटिएको हुनसक्छ ।

खस्किंदै अन्तर्राष्ट्रिय छवि

विदेश जान दूतावासहरूले बैंक ग्यारेन्टीको प्रमाणपत्र माग्ने गरेका थिए । तर, फर्जी कागज तयार गर्न अड्डा नै खोलेर बसेको भेटियो । नेपालस्थित अमेरिकी दूतावासले त अहिले बैंक ग्यारेन्टी नै माग्दैन ।

नक्कली कागजात छ्यापछ्याप्ती भएकै कारण अन्तर्राष्ट्रियस्तरमा हाम्रो विश्वसनीयता गुमिरहेको छ । हाम्रो पासपोर्टको रंग हरियो छ । नेपाली थाहा पाउने वित्तिकै अध्यागमनमा पनि छुट्टै लाइनमा राख्छन् ।

नेपाली जति सबै फर्जी हुन्छन् भन्ने खाले दृष्टिकोणले हेर्ने गर्छन् । प्रमाणपत्रलाई पनि कमै विश्वास गर्छन् । यसरी मुलुकमा हुने नक्कली कागजात उत्पादनको परिणाम हामीले भोग्न थालिसक्यौं । अझै के केसम्म भोग्नुपर्ने हो थाहा छैन ।

हामीप्रतिको अविश्वासकै कारण विदेश अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ बनाउनुपर्ने व्यवस्था आयो । दूतावासहरूको दबाबपछि गाउँपालिका र नगरपालिकाबाट सिफारिश चाहिने व्यवस्था थपियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेतृत्व गर्दा मैले रातो पासपोर्ट सम्बन्धी अपरेशन चलाएको थिएँ । मुलुकका मन्त्री र सांसद नै आफ्नो पासपोर्ट बिक्रीमा संलग्न रहेको खुलेको थियो । यति भएपछि बाहिरका मानिसले नेपालीलाई कसरी विश्वास गरुन् ?

कूटनीतिक पासपोर्ट बोकेर गएका एक जना व्यक्तिको तस्वीर फर्जी पाइएपछि युएईले नेपालमा डिपोर्ट गरिदिएको थियो । नेपाल फर्किएपछि ऊ सहजै विमानस्थलबाट बाहिरियो । यसले नेपाल बाहिर प्रयोग हुने कागजपत्रमा अध्यागमन र विमानस्थलको समेत मिलेमतो हुनसक्ने देखाउँछ ।

जग्गासँग सम्बन्धित ठगीका घटनामा दुईखाले प्रवृत्ति छन् । एउटा फर्जी धनीपुर्जा लगायतका कागजात बनाएर जग्गा बिक्री गर्ने गरिएको छ । अर्को चाहिं विभिन्न प्रयोजनमा पक्राउ परेपछि धरौटी राख्ने प्रयोजनमा पनि नक्कली कागजात प्रयोग गर्ने गरिएको छ ।

बैंकबाट ऋण लिने प्रयोजनमा नक्कली कागजपत्र प्रयोग गरिएको देखिन्छ । कमसल धितोलाई बढी मूल्यांकन गर्न यस्तो कागजात प्रयोग गरिन्छ । अधिकांश यस्ता घटनामा सरकारी कर्मचारीको समेत मिलेमतो हुन्छ ।

नागरिकताको विषय त कति गम्भीर छ भने संगठित अपराधका नाइके बब्लु श्रीवास्तवसँग नेपाली नागरिकता थियो । मिर्जा दिलसाद वेगको हत्यामा संलग्न उनले सिंगापुरमा समातिंदा नेपाली भएको दाबी गरेका थिए । उनले पासपोर्ट पनि देखाए । नेपाली नागरिकलाई भारत नपठाउन भन्दै उनले इन्टरपोललाई दबाब पनि दिएका थिए । नेपालमा जो–कसैले सजिलै नागरिकता बनाउँछ । त्यसैले, नेपाल अपराधीका लागि स्वर्ग मानिन्छ ।

अपराध नठानिएको विधा

सरकारी कागजात किर्तेलाई अपराधको रूपमा मानिसहरूले सोच्ने गरेको देखिन्न । हत्या, हिंसा जस्ता घटनामा जस्तो सेन्सेसन पैदा हुँदैन । नागरिकले अरूलाई हानि भएको छैन, लाभ लिइरहेको छ भने के हुन्छ भन्ने हिसाबले सोच्छन् ।

फेरि व्यक्तिविशेषलाई भएको हानिमा मानिसको बढी चासो र चिन्ता हुन्छ । संस्थालाई गरेको हानिमा प्रायः मौन बस्छन् । कुनै व्यक्तिलाई हानि गरेको भए, तुरुन्तै ‘रियाक्ट’ गरिहाल्थे ।

‘विदेश जानेको हकमा, नेपालमा प्रयोग गर्ने होइन, बाहिर लैजाँदा के भयो त ? यसको भविष्य बन्छ भने किन त्यति नगरिदिने ?’ यस्तो सोचेर अपराधमा ‘सफ्ट कर्नर’ राख्ने गरिन्छ ।

रक्तचन्दनको उदाहरण हेरौं न, भारतबाट आउने चीन जाने के फरक भयो र भनेर पनि भनियो । तर, त्यसले नेपालमा जन्माएको तस्करीको समूह र सामाजिक विकृतिलाई बेवास्ता गर्न मिल्ला र ?

अर्को देशमा प्रयोग हुने हो भनेर बेवास्ता गरेको कारण हामी यसको दूरगामी असरबारे सोचिरहेका छैनौं । यसले देशको प्रतिष्ठामा गम्भीर खलल पुर्‍याइरहेको छ ।

(नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक भण्डारीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानी आधारमा प्रकासित ।)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु