नीति तथा कार्यक्रम र बजेटको अनलाइन सुझाव संकलन

२०७८, ३ असार बिहीबार २२:१४

किरण कौशल
पाल्पा ३ असार
कोरोना कहर बढेकोले पाल्पाका स्थानीय तहले आगामी बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटका लागि अनलाइन विधिबाट सुझाव मागेका छन् । बस्ती र वडास्तरमा भेलाहरु गर्न सम्भव नभएपछि पालिकाले अनलाइन प्रश्नावली तयार गरेर त्यही सुझाव दिन मिल्ने गराएका छन् । पालिकाहरुले फेसवुक, ईमेल र अन्य सामाजिक सञ्जालबाट समेत सुझाव संकलन गर्न थालेका छन् । रम्भा गाउँपालिकाले २६ वटा प्र्रश्नावली मार्फत आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थान र शुसासन तथा संस्थागत विकास क्षेत्रगत विषयमा सुझाव माग गरेको छ ।
कोरोना जोखिम रहेको असार १० भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नु पर्ने भएकोले अनलाइनबाट सरोकारवाला सबै पक्षसंग सुझाव माग गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । पालिकाले पूर्वाधार विकाससंगै कोराना नियन्त्रण र रोकथामका उपायहरु, संस्थागत सुत्केरी र लैङ्गिक समानता क्षेत्रमा सुधारका उपायहरु सुझावमा दिन आव्ह्रान गरेको छ । पालिकाको समग्र विकासका सञ्चालन गर्न सकिने नमूना कार्यक्रमहरु, कृषिमा आत्मनिर्भर बनाउने विधि, सुशासन प्रर्वद्धन, गाउँ गाउँमा रोजगारीको र लक्षित बर्ग उत्थानमा गर्नुपर्ने कार्यक्रम लगायतमा सुझाव माग गरिएको छ ।
बगनासकाली गाउँपालिकाले पालिकाको फेसवुक पेज र ईमेलमा सुझाव माग गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार, कृषि, पशुपालन, रोजगारी र शुसासन क्षेत्रमा सुझाव मागिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । जिल्लाका धेरै पालिकाहरुले अनलाइन सुझाव संकलन थालेका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु