केही खुकुलो हुँदै थपियो निषेधाज्ञा : बैंकहरु बिहानमा खुल्ने

२०७८, २३ जेष्ठ आईतवार १२:३४

भबिन्द्र गौतम, तानसेन २३ जेठ । पाल्पामा जारी निषेधाज्ञा यही जेठ ३१ गते सम्म थपिएको छ । जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । बन्द रहेका बैंकहरु समय हेरफेर गरेर खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञा पाँचौ पटक थप गर्दै जेठ ३१ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।

यसअधि बन्द रहेका बैंकहरु आंशिक रुपमा खुल्ने भएका छन । बाणिज्य र बिकास बैंक बिहान ७ देखि १० बजे सम्म खुल्नेछन । अन्य बित्तीय संस्थाहरु लघुबित्त, सहकारी संस्था, बिमाकम्पनी लगायतका संस्थाहरु पुर्णरुपमा बन्द रहनेछन । ती कार्यालयहरुबाट प्रदान गर्ने सबै सेवाहरुमा रोक लगाइएको छ ।

अत्यावश्यक बाहेकका खाद्यन्न, तरकारी पसल, निर्माण सामाग्रीका पसल, विहान दिनको एक पटक ७ देखि ९ बजे सम्म खुल्दै आएकोमा समय बढाइ १० बजेसम्म खुल्न पाउने भएका छन । अन्य व्यपार व्यवसाय सार्वजनिक सवारी, सरकारी कार्यालय, शैक्षिक संस्था लगाएत सबै क्षेत्र पुर्बबत रुपमा बन्द रहने भएका छन ।
जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ८ सय ७१ रहेको छ । जसमध्ये ८ सय ११ जना होम आइसोलेसनमा रहेका छन । ६० जना अस्पतालमा उपचाररत रहेका छन भने कोरोनाको दोस्रो लहरमा पाल्पामा ५६ जनाले ज्यान गुमाएका छन ।

Comments

ताजा खबर