बगनासकालीमा जन्मदर्ता सचेतना कार्यक्रम

२०७७, ८ चैत्र आईतवार ०६:५२

पाल्पा । बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन भएको छ । गाउँपालिका को वडा नं. १, २ र ६ मा स्थानीयहरुलाई जानकारी गराइएको हो ।

जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था, जन्मदर्ता सम्बन्धी भएका निर्देशन तथा परीपत्रहरू सम्बन्धी जानकारी, जन्मदर्ताको आवश्यकता र महत्व, बालमैत्री व्यवहार, बाल अधिकार, जन्मदर्ताको लागि संलग्न गर्नुपर्ने कागजपत्रबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

गाउँपालिकाका योजना अधिकृत भरतराज घिमिरे र पञ्जीकरण सेवा इकाई प्रमुख भोजराज भट्टराईले कार्यक्रममा सहजीकरण गर्दै बालबालिकाको जन्मदर्ता नैसर्गिक अधिकार भएकाले कानूनत नमिल्ने र प्रमाणित गर्न नसकिने विषय बाहेकका जन्मदर्तालाई कुनै बहाना बनाएर रोक्न नहुने बताउनुभयो ।

अभिमुखीकरणमा जनप्रतिनिधि, बालमैत्री कार्यक्रम सहजकर्ता, सञ्चारकर्मी र कर्मचारीहरूले जन्मदर्ताको क्रममा आइपरेका समस्याहरू सुनाउनुभएको थियो । वडा नं. १ मा सोमबहादुर झेंडी, २ मा टेकनाथ शर्मा गैरे र ६ मा लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम सञ्चालन भएको थियो ।

बगनासकाली गाउँपालिकाकले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत ५ वर्ष मुनिका बच्चाहरूको जन्मदर्ता सम्बन्धी वडास्तरीय सचेतना कार्यक्रम पालिकाका सवै वार्डमा सञ्चालन गर्ने कार्यक्रम संयोजक भोजराज भट्टराईले बताउनुभयो । यस अघि वडा नं. ३ नायर, वडा नं. ४ खानीछाप, वडा नं. ७ खानीगाँउ र वडा नं. ८ बराङ्दीमा सचेतना कार्यक्रम सञ्चालन भइसकेको भट्टराईले बताउनुभयो ।

बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बालमैत्री सूचक पूरा गर्न पालिकाले विभिन्न बाँकी कामलाई निरन्तरता दिदैं आएको छ ।

Comments

ताजा खबर