दमौली,स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएकोछ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको सो गाउँपालिका–५ क्युदीमा भवन निर्माण शुरु भएको हो । सङ्घ र प्रदेशसरकारबाट बजेट प्राप्त भएपछि पालिकाले निर्माणको काम शुरु गरेको अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।
कूल रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँचसय ८० मा सम्झौता भएको छ । भवन निर्माणको ठेक्का रविना÷अविसा जेभी काठमाडौले पाएको छ । निर्माण कम्पनीसँग गत असार १९गते सम्झौता भएको थियो । विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ ।
गाउँपालिकाले हाल दुई वडा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ । बिजुली, पानीसहित गाउँपालिकाले कार्यालय सञ्चालनकालागि मासिक रु ८० हजार भाडा तिर्ने गरिएको छ ।
भवन निर्माणका लागि सङ्घ सरकारले रु दुई करोड रु प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ भने गाउँपालिकाले चालूआर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको छ ।
—