काठमाडौ । ऊर्जा, जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले दसैं पर्वका समयमा देशैभर बिजुली नकाटिने गरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् अनियमित हुन नदिइ विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन उनले निर्देशन दिएका हुन् ।
बिहीबार मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका पूर्व उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईलाई बोलाएर छलफल गरेपछि उनले बिजुली ननिभ्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए । “दसैंका बेला कहीं पनि विद्युत् काटिने समस्या नआओस्, कहिँ पनि बत्ती ननिभोस्,” प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने ।
मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे । “भार प्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो,” मन्त्री पुनले भने, “बोर्डले योजनाबद्ध रुपमा आफ्नै आइसोलेसन र क्वारेन्टिन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा अवरुद्ध भएको छैन ।”
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रि«य प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिए । सचिव घिमिरेले विद्युत् सेवा नियमित गराउन इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले कोरोना महामारीका कारण उद्योगहरू पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गत वर्षको यही समयको तुलनामा कम रहेको जानकारी दिए । माग कम हरेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाड पर्वको समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो । भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी १ हजार एक सय १० मेगावाट विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा रहेको भन्दै माग भने ७ देखि ८ सय मेगावाटसम्म मात्र रहेको बताए । “हामीसँग अहिले ११ सय १० मेगावाट विद्युत् उपलब्ध छ,” भट्टराईले भने, “दैनिक माग ७ देखि ८ सय मेगावाट मात्र छ ।” विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट पारे ।