संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४८ जना नेपाली आज स्वदेश फर्किँदैछन् । फर्कनेहरूमा अधिकांश महिला छन् भने विमानमा एक जना नेपालीको शवसमेत रहेको यूएईस्थीत नेपाली दूतावासका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।
नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत उनीहरू नेपाल आउन लागेका हुन् । नेपालीहरू चढेको विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा अवतरण गर्नेछ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो ।
स्वदेश फर्किएकाहरूमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।
आजै कुवेतबाट पनि करिब १ सय ५० को हाराहारीमा नेपालीहरू फर्कँदैछन् । उनीहरूलाई कुवेत सरकारले नै काठमाडौँसम्म पु-याउँदैछ । कुवेतबाट आउने जहाज बिहान साढे ११ बजे काठमाडौँ अवतरण गर्नेछ । हिमालय एयरलाइन्सले पनि आज माल्दिभ्सबाट नेपालीहरूलाई स्वदेश ल्याउँदैछ भने साउदीको दमामबाट १ सय ५५ नेपाली बिहान काठमाडौँ आइपुगेका छन् । उनीहरूलाई लिएर बिहान पौने ६ बजे हिमालय एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गरेको हो ।