तिनाउकाे कार्यालय भवन निर्माण शुरू

२०७७, २२ भाद्र सोमबार ०६:००

सन्ताेष गहतराज,पाल्पा । जिल्लाकाे तिनाउ गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य शुरू भएको छ ।

साविक दोभान गाउँ विकास समितिको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको तिनाउ गाउँपालिकाले स्थानीय समुदायबाट प्राप्त गरेको जग्गामा आफ्नो कार्यालय बनाउन लागेको हो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले पूजापाठ गरी आज भवनको शिलान्यास गर्नुभभयो । भवन शिलान्यास गर्दै अध्यक्ष घर्तीले जनता र सेवाग्राहीलाई सेवा दिन नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

तिनाउ गाउँपालिकाको केन्द्र निर्धारण गरिएको तिनाउ २ दोभानमा गाउँपालिकाको सुविधा सम्पन्न भवन बन्न लागेको छ । दुई करोड ३६ लाख ६ हजार ३० रुपैँया स्टमेट रहेको यो भवन हिमाल थापा जेभीले २ करोड ७ लाखमा निर्माण सम्पन्न गर्ने गरी कबुल गरेको छ । कार्यालय भवनमा ७ कोठा, एक सभाहल, महिला पुरुष शौचालय र ४ वटा प्रवेशद्वार रहने छन् ।

तिनाउ गाउँपालिकाका इन्जिनियर किसन कुँवरले एक तले भवन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिका कार्यालय भवनको तीन तलाको डिपिआर बनिसकेको छ ।

Comments

ताजा खबर