दक्षिण कोरियामा पाकिस्तान र बंगलादेशका नागरिकले प्रवेशाज्ञा नपाउने

२०७७, ८ असार सोमबार २०:१६

दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको छ ।

दक्षिण कोरियाको समाचार समितिले मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको जनाएको छ ।

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने स्पष्ट पारेको छ ।

दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । कोरियाली अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् ।

सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो ।

स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए । गत २८ मे पछि पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप नियन्त्रणमा रहेको पाइएको छ ।

गत शनिबारको तथ्यांकमा १२ हजार ३७३ जना संक्रमित छन् । साथै दक्षिण कोरियाका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

Comments

ताजा खबर