अब लामो कपाल पाल्ने चुल्ठे–मुन्द्रे र रफ पाइन्ट लगएर राती बाटोमा भेटियका सबै सोधपुछमा लानसक्ने ।

२०७५, ८ पुष आईतवार ०८:२५

कोहलपुर – कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

रातीमा अनावश्यक हिड्ने चुल्ठे–मुन्द्रेलाई रातभरी थुनेर बिहान घरपरिवारको उपस्थितिमा कपाल काट्न लगाउने गरिएको छ । प्रहरीले यो अभियान चलाउदा दैनिक ५/६ जना नियन्त्रणमा परिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए । ‘लागु पदार्थ प्रयोगकर्ता, जल्लु कपाल पालेका, रफ पाइन्ट लगाएका व्यक्तिहरु रातीमा भेटिए थुन्ने गरेका छौं, प्रवक्ता विसीले भने, ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तीको जिम्मा लगाउँछौं ।’

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको हो । चोरीका घटना बढ्दा कोहलपुरका व्यवसायी, स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन् । कोहलपुर प्रहरीले ‘पुराना चोर’ को पनि खोजी गरिरहेको छ । विगतमा चोरीमा लागेका र कारागारमा पुगेर फर्किएका एक दर्जन चोर कोहलपुर क्षेत्रमा रहेका छन् । चोरीकर्ममा लागेका यिनीहरुलाई प्रहरीले खोजी गरिरहेको हो ।

प्रहरीले राती हिड्नेलाई थुन्ने अभियान थालेपछि कतिपय त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’ सहित पक्राउ परेका छन् ।

प्रहरीले रातीमा पक्राउ परेकालाई विहान परिवारका सदस्य बोलाउने, झल्लु कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेको छ । फेरि त्यही मान्छे फोकटमा रातीमा हिडेको पाइएमा कारबाही अघि बढाउने प्रहरीको योजना रहेको छ । रातभरी राखेर विहान छोड्दा प्रहरीले फेरि भेटेमा कारबाही गर्ने चेतावनी दिएर छोड्ने प्रवक्ता विसीले बताए ।

प्रहरीले चोरी नियन्त्रण र बिना काम रातीमा हिड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ । दुई वटा ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली रहेको छ । जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागु पदार्थको प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अधिकांश चोरीमा लागु औषध प्रयोग नै संलग्न हुने गर्दछन् ।

Comments

ताजा खबर