२०७५, १३ भाद्र बुधबार ०९:००

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

काठमाडौं – मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थालिन् ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन ।मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सकिनन् ।बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उनले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गरिन् । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याइन् ।

Comments

ताजा खबर