अब ट्याक्सी ड्राइभरलाई ड्रेसको साटो ज्याकेट !

२०७५, ५ भाद्र मंगलवार २१:१६

५ भदौ, काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि अर्को उपाय निकालिएको छ ।

महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरलाई छुट्टै ड्रेसको सट्टामा पहेँलो फ्लोरेसेन्ट ज्याकेटको लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको हो । बुधबारदेखि ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाउनु पर्ने नियम लागू गर्न लागिएको हो ।

चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको साटो ज्याकेट लगाउनु पर्ने व्यवस्था लागू गरिएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले अनलाइनखबरसँग कुरा गर्दै ट्याक्सी चालकहरुले बुधबार बिहानदेखि फ्लोरेसेन्ट ज्याकेट लगाउने बताए ।

‘संघले एउटै रंगको ज्याकेट व्यवस्था गरेको छ । त्यसलाई न्यूनतम मूल्यमा खरिद गरेर उनीहरुले लगाउनेछन्’, पन्तले भने । यसले सर्वसाधारणलाई चालकको पहिचान गर्न सहज हुने विश्वास लिएका छौं । सार्वजनिक सवारीमा यात्रुमाथि चालक र सहचालकबाटै दुव्र्यवहार हुने गरेको गुनासो आउने गरेका छन्’, उनले थपे, ‘यसले सर्वसाधारणले चालकको पहिचान गर्नेछन् भने चालकहरु पनि आफ्नो पेशाप्रति उत्तरदायी हुनेछन् ।

‘यदी उनीहरुले ज्याकेट लगाएनन् भने पहिलो चरणमा सचेत गराउँछौं’, महाशाखाका एक अधिकारीले भने, ‘त्यसपछि पनि अटेर गरे केही कानुनको दायरामा ल्याउँछौं । यातायात व्यवस्था कार्यालय, बागमती मातहत हाल ११ हजार ट्याक्सी चालक रहेको जनाइएको छ ।

Comments

ताजा खबर