संसदीय सुनुवाई समितिको पहिलो बैठक मा तीन सदस्यीय उपसमिति गठन

२०७५, २६ असार मंगलवार १४:२८

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसकी पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई बुधबार (भोलि)सम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।

समितिले सभापति चयन प्रक्रियामा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । नियमावलीमा गरिएको व्यवस्था अनुसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूचि तय गरिएको जेष्ठ सदस्य कर्णले बताए ।

१५ सदस्यीय संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान,योगेश भट्टराई,राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहनु भएको छ । त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव समितिमा छन् ।

Comments

ताजा खबर