रुसद्वारा सैन्य हतियार प्रदर्शन

२०७५, २७ बैशाख बिहीबार ०६:२५

२७ बैशाख , काठमाडौं ,
हरेक वर्ष ९ मेका दिन दोस्रो विश्व युद्धको सम्झनामा रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा परेड आयोजना गरिने चलन रहेको छ । १९४५ मा नाजी जर्मनीमाथिको जितको घोषणा गर्दै आफ्नो देशको सैन्य क्षमता प्रदर्शन गर्न रुसमा ठूलो परेड गर्ने गरिएको हो । तर यसवर्षको परेड भने ऐतिहासिक कारणले मात्र नभएर चौथोपटक राष्ट्रपति निर्वाचित भएका पुटिनको नयाँ कार्यकालको सुरुवातका कारण पनि विशेष मानिएको सिएनएनले जनाएको छ ।

यसका साथै बुधबारको यस विशाल परेडमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानयाहूले समेत उपस्थिति जनाएका छन् । वर्षौँदेखि रुस र इजरायलबीचको सम्बन्ध विवादित मानिँदै आएपनि पुटिन र नेतानयाहूले भने एकअर्कासँग राम्रै सम्बन्ध राखिरहेका छन् । वास्तवमा रुसले लामो समयदेखि ईरानलाई सैन्य सहयोग प्रदान गर्दै आएको छ जसलाई इजरायलको सबैभन्दा ठूलो दुश्मन मानिन्छ । त्यसैले पनि पुटिन ईरानसँगको आणविक सम्झौतालाई जारी राख्न चाहान्छन् भने इजरायलले चाहिँ ईरानले गोप्य रुपमा हतियारको प्रयोग गरिरहेको आरोप लगाउने गरेको छ ।

यस्तोमा ट्रम्पले अमेरिकालाई सम्झौताबाट बाहिर निकालेकै समयमा रुस भ्रमणमा रहेका नेतानयाहू र पुटिनबीच अब गम्भीर छलफल हुने बताइएको छ । अर्कोतर्फ पहिलोपटक रुसले आधुनिक हतियारहरु प्रत्यक्ष प्रदर्शनीमा राख्ने हुनाले अहिले यस परेडबारे विश्वभर चर्चा भइरहेको छ । त्यसैले पनि विश्वयुद्धको सम्झनामा रुसले आयोजना गरेको सो परेडको धेरै ठूलो महत्व रहेको छ । यससँगै पुटिनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलोपटक सम्बोधन गर्ने कार्यक्रममा उनले सोभियतबाट दुई करोड जनताले ज्यान गुमाएको हुँदा रुसले यस इतिहासलाई धेरै संवेदनशील रुपमा लिँदै आएको बताएका हुन् ।

त्यसैगरी परेडमा दिएको भाषणमा उनले यसअघिका दुवै युद्धहरुबाट विश्वले धेरै ठूलो पाठ सिकिसकेकाले त्यसलाई पुनः दोहोरिन दिन नहुने बताएका छन् । विश्वमा अहिले युद्धको स्थिति धेरै संवेदनशील बनिसकेको कुरा सबै मुलुक र राजनीतिज्ञहरुले बुझिराख्नुपर्ने पुटिनले उल्लेख गरेका हुन् । उक्त परेडमा करिब १३ हजार मानिसहरुले मार्च गरेका छन् भने १५० भन्दा बढी सैन्य हतियारहरु प्रदर्शन गरिएको बताइएको छ । प्रदर्शन गरिएका हतियारहरुमा सु–५७ फाइटर जेट, किन्जल हाइपर सोनिक मिसाइल, यार्स ब्यालेस्टिक मिसाइल, नयाँ प्रविधियुक्त अर्माटा ट्याङ्क, एस–४०० प्रतिरक्षात्मक हवाइ मिसाइल आदि रहेको बताइएको छ ।
रुससँग दोस्रो विश्व युद्धको समयदेखिका यस्ता थुप्रै क्षमतावान् र विनाशकारी हतियारहरु रहेका छन् । यसअघि चुनावपूर्वको भाषणमा पनि पुटिनले तिनै हतियारतर्फ संकेत गर्दै रुसले विश्वकै शक्तिशाली मिसाइल निर्माण गरिसकेको बताएका थिए । साथै उनले अमेरिकी प्रतिरक्षात्मक प्रणालीलाई समेत हराउन सक्ने मिसाइलको तयारी पूरा भइसकेको भन्दै ट्रम्पलाई गम्भीर चेतावनी दिएका थिए ।

Comments

ताजा खबर