देशभर बाढिको प्रभाब, ११ को मृत्यु उद्घारमा ढिलाइ

काठमाडौँ — देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ। आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन्।

रोल्पा र बाँकेमा बाढी–पहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन्। पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो। बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ। निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा अचेत छन्। राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान ज्यान गएको हो।

लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन्। पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन्। पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ। एक विद्यार्थी अझै बेपत्ता छन्।

प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो। कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन्।
अर्का दुई संगिता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए। दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन्।

वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ। सडकमा तीन फिटसम्म पानी जमेको छ। महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ।

कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ। काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताए।

अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए। उनका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन्।
दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ। सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ। करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ।नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए।

उडान पनि ठप्प
भारी वर्षाका कारण सोमबार सुर्खेत विमानस्थल ठप्प रह्यो। सुर्खेतबाट काठमाडौं र कर्णालीका हिमाली क्षेत्रमा जाने कुनै पनि उडान भएनन्।सुर्खेतबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा र मुगुमा उडान हुन्छ। नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले सोमबार सुर्खेतबाट कुनै उडान नभएको जानकारी दिए।

हुम्लामा आइतबार रातिदेखि भएको वर्षाका कारण उडान नहुँदा भारतीय पर्यटक सिमकोटमै रोकिएका छन्। भारतीय तीर्थयात्रीलाई हिल्सासम्म ओसारपोसार गर्ने हेलिकप्टर कम्पनीले पनि उडान गर्न सकेका छैनन्।सिमकोट विमानस्थलमा विभिन्न कम्पनीका ७ हेलिकप्टर छन्। झन्डै पाँच सय भारतीय तीर्थयात्रु सिमकोटका होटलमा जहाजको प्रतीक्षामा रहेका होटल व्यवसायी रिन्जनी लामाले बताए।

हेलिकप्टर तयारी अवस्थामा
गृह मन्त्रालयले राहत तथा उद्धार कार्य प्रभावित हुन नदिन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ। तत्काल उद्धार र राहतका लागि इटहरी, सुर्खेत, पोखरा र काठमाडौंमा रहेका नेपाली सेनाको हेलिकप्टरलाई तयारी हालतमा राखिएको छ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार क्षेत्रीय गोदाममा राहत सामग्रीहरू तयारी अवस्थामा राखिएको छ। उनका अनुसार बाढी र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोषले तत्काल राहत दिनेछ।

नारायणगढ–मुग्लिङ सडकसुचारु
राजधानी प्रवेशको मुख्य मार्ग मुग्लिङ–नारायणगढ सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ। टोपे खोलामा ठूलो पहिरो गएपछि दिनभर सडक अवरुद्ध भएको थियो । बेलुकी ८ बजेबाट सडक दुईतर्फी नै सुचारु भएको छ ।

आइतबार रातिदेखि नै वर्षा भएकाले नारायणगढ–मुग्लिङ सडकमा सोमबार बिहानैदेखि यातायात प्रभावित भएको थियो। मध्याह्न पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूरै ठप्प भएको हो।
मध्याह्नअघि बिहान जलबिरे, चारकिलो, कालीखोला क्षेत्रमा स–साना पहिरो गएको थियो। ती पहिरो सफा गर्दै एकतर्फी भए पनि गाडी चलेका थिए। तर टोपे खोलाको पहिरोपछि गाडीहरू ठप्पै भए,’ बिसुरालले भने। टोपे खोला मुग्लिङ नजिक पर्छ। हामिले यो खवर इकान्तिपुर बाट लियका हौ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago