मरेका माछाको व्यवस्थापन नहुँदा कमलपोखरी क्षेत्र दुर्गन्धित

२०७४, १२ माघ शुक्रबार १९:५२

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेका अधिकांश माछा मरेका छन् । एक्कासि मर्नुको कारण स्पष्ट नभएपनि मरेका माछाको व्यवस्थापन नगरिँदा सो क्षेत्र अत्यन्तै दुर्गन्धित छ । दुर्गन्धकै कारण आवत–जावत गर्नेहरु नाम थुनेर हिड्न बाध्य छन् ।

मरेका माछाको दुर्गन्धका कारण कमलपोखरी आसपास यसरी नाकै थुनेर हिड्नुपर्ने बाध्यता छ । झण्डै दस दिन पहिलेदेखि यहाँका माछा एक्कासी मर्न थालेका हुन् । पोखरीको भित्तादेखि पेटिसम्म मरेका माछा असरल्ल छोडिएको छ । मरेका माछा कुकुर र कागले जताततै पु¥याएका छन ।

माछा किन मरे भन्नेमा चासो नदिएको काठमाडौं महानगरपालिकाले मरेका माछाको व्यवस्थापनमा झन किन चासो दिन्थ्यो ?

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुननिर्माण गर्नुपर्ने भएपछि २०७३ को मंसिरमा त्यहाँका २५ ड्रमजति माछा यो कमलपोखरी सारिएको थियो । सार्ने बेलैमा केही मरेपछि अहिंसावादीले माछाको जीवनरक्षाको माग गरेका थिए ।

एक बर्षसम्म जीवितै रहेका माछा एक्कासी किन मर्न थाले भन्नेबारे अध्ययन भएको छैन । साँधुरो र थोरै पानी भएको क्षेत्रमा अधिक संख्या भएपछि एक्कासी मर्न थालेको हुनसक्ने पोखरीको व्यवस्थापकीय जिम्मेवारी लिएको कमलपोखरी स्पोटर्स क्लबको अनुमान छ ।

बढ्दै गएको आकारले ठाउँ साँधुरो बनाउदा र पोखरीको सरसफाई नगरिँदा माछा मर्न थालेको हुनसक्ने स्थानीयको पनि अनुमान छ । कमलपोखरीमा कति माछा थिए र अहिलेसम्म कति मरे भन्ने यकिन तथ्यांक भने छैन ।

Comments

ताजा खबर