नियोजनका साधनबारे जान्नैपर्ने यी कुरा

२०७४, १ पुष शनिबार २०:१०

हाम्रो इच्छाविपरीत कहिलेकाहीँ गर्भ बस्छ र बच्चा जन्माउन बाध्य हुनुपर्छ । यसको कारण परिवार नियोजनको साधनको प्रयोग सही तरिकाले नगर्नु पनि हो । नचाहँदानचाहँदै बच्चा जन्मन नदिन के गर्ने ? हामीले परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्छ । यी साधनबारे जानकारी पनि लिन सक्नुपर्छ ।

स्तनपान विधि :>
सुत्केरी महिलाले बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान मात्र गराएमा यसले गर्भधारण हुनबाट बचाउँछ । यो विधि प्रभावकारी बनाउन बच्चालाई पूर्ण रूपमा स्तनपान मात्र गराउनुपर्दछ । अन्य खाना वा झोल कुरा खुवाएको हुनु हुँदैन । बच्चा ६ महिनाभन्दा कम उमेरको हुनुपर्दछ । महिलाको महिनावारी फर्केको हुनु हुँदैन । यी सबै अवस्था पूरा भएको खण्डमा ९८ प्रतिशत गर्भ रहँदैन । यीमध्ये कुनै एउटा प्रभावकारी भएन भने गर्भ रहन सक्छ ।

तीनमहिने सुई :>
गर्भ रोक्नका लागि यो सुई महिलाले प्रत्येक तीन–तीन महिनामा लगाउनुपर्दछ । स्तनपान गराईरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछिबाट मात्रै लगाउन मिल्छ । यसको प्रभावकारिता पनि अरूको जस्तै हुन्छ ।

पिल्स:>
यो प्रत्येक दिन एउटै समयमा एक चक्की खाने गर्नुपर्दछ । बच्चालाई स्तनपान नगराउने महिलाले मात्रै पिल्स प्रयोग गर्नुपर्दछ । सामान्य प्रयोगकर्तामा ९२ प्रतिशत प्रभावकारी हुन्छ । यसमा भएको औषधिले आमाको दूधको मात्रा घटाउने गर्दछ । त्यसैले स्तनपान गराउने महिलाले यसको प्रयोग गर्नु हुँदैन ।

कन्डम:>
कन्डम पुरुषले प्रयोग गर्ने अस्थायी साधन हो । यो कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । सामान्य प्रयोगकर्ताहरूमा यसको प्रभावकारिता ८५ प्रतिशत रहेको पाइन्छ । कन्डमको प्रयोगले एचआइभी एड्सबाट समेत बचाउँछ ।

आइयुसिडी :>
यो महिलाको पाठेघरमा राखिने एउटा प्रभावकारी साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्दछ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्दछ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी हुन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागे तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ गएर निकाल्न लगाउने, उनीहरूले सहज रूपमा निकाल्ने गर्दछन् । यसरी निकालेपछि महिला फेरि गर्भधारण गर्न सक्छन् । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन ।

इम्प्लान्ट :>
इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछि इम्प्लान्टको प्रयोग गर्न सक्छन् । इम्प्लान्टले एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्छ । यो पनि प्रभावकारी हुने र निकालेर पुनः गर्भधारण गर्न सक्ने हुन्छ । यसको प्रयोगले स्तनपानलाई असर पर्दैन ।

स्थायी बन्ध्याकरण :>
महिला वा पुरुषले गर्ने स्थायी बन्ध्याकरण एउटा अति प्रभावकारी विधि हो । स्थायी बन्ध्याकरण गर्दा सानो शल्यक्रियाको आवश्यकता पर्दछ । बच्चा जन्माएको ७ दिनदेखि ६ हप्ताभित्र महिला बन्ध्याकरण गर्न सकिन्छ । पुरुष बन्ध्याकरण भने जुनसुकै समयमा पनि गर्न सकिन्छ । यो विधि अपनाएपछि पुनः अर्काे बच्चा हुँदैन । पूर्ण रूपमा बन्द हुने भएकाले बच्चाको आवश्यकता पूरा भएपछि यो विधि अपनाउन सकिन्छ ।

Comments

ताजा खबर