फेसबुकले आफ्नो नीतिविपरीत सञ्चालनमा रहेका पछिल्ला ५ महिनामा ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको मंगलबार सार्वजनिक गरेको छ ।
यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको फेसबुक कम्पनीले जनाएको छ ।
सन् २०१६ मा अमेरिकी निर्वाचनमा फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरी प्रचार गरिएको विषय सार्वजनिक भएपछि फेसबुकको आलोचना हुँदै आएको छ ।
क्याम्ब्रिज एनालिटिका विवाद भनिने यो घटनाका कारण फेसबुकमाथि पारदर्शी बन्नुपर्ने दवाब बढ्दै गएको छ ।
फेसबुकका कूल एकाउन्टमध्ये अझैं ४ प्रतिशतसम्म एकाउन्टहरु नक्कली हुनसक्ने अनुमान छ ।
तर, फेसबुकले भने शतप्रतिशत नक्कली एकाउन्ट डिलिट गरिएको दाबी गरेको छ ।
उसले पछिल्लो ५ महिनामा ८३ करोड ७० लाख बढी पोष्टहरु पनि डिलिट गरिएको जनाएको छ ।
फेसबुकसँग जोडिएर प्रयोगकर्ताको तथ्यांक संकलन गर्ने २ सय बढी एपलाई पनि आफ्नो प्लेटफर्मबाट डिलिट गरिएको केही दिन अघि फेसबुक कम्पनीले जनाएको छ ।