जेनजी आन्दोलनप्रति सेनाको अपिल : संयमता र एकता कायम राखौँ

२०८२, २४ भाद्र मंगलवार १८:५८

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले गहिरो दुःख प्रकट गर्दै सबैलाई संयमता अपनाउन अपिल गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो। यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा शक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।”

नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।


ताजा खबर