फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे १ च ३०११ नम्बरको बोलेरोमा आज बिहान करिब ५ बजे आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको थियो र गाडी त्यसमा अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आगलागीको खबर पाएपछि प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ भने गाडीमा जलेर मृत्यु भएका यात्रुहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।