जहाँ मनमनै होइन चिच्याएर वर मागिन्छ – सत्यवती मेला

२०८०, ४ मंसिर सोमबार १६:१४

पाल्पा । चिच्याएर वर माग्ने स्थान सत्यवतीमा मेलाको तयारी तीव्र पारिएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म सत्यवती मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यो वर्ष सत्यवतीमा बर माग्ने मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिका अध्यक्ष दानबहादुर गाहाले नेपालमै विशिष्ट पहिचान बोकेको सत्यवतीमा बर माग्ने मेला पाँच दिन हुने जानकारी दिनुभयो । भक्तजनको माग र चाहना अनुसार यो वर्ष पाँच दिन बर माग्ने मेला लाग्ने उहाँले बताउनुभयो ।

फाइल तस्बिर

परापूर्व कालमा सत्यवती बज्यै घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर बर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । यही विस्वासका कारण यहाँ हरेक वर्ष कात्तिके र मङ्सिरको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

बर माग्ने मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, साल आदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि बर मागेर फर्कने परम्परा रहेको छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुबिधाका लागि सडक निर्माणका लागि हरेक वर्ष काम भइरहेको उहाँले जानकारी दिनुभयो । यो वर्ष पनि सिद्धार्थ राजमार्गको झुम्सादेखि सत्यवती तालसम्म पुग्ने बाटो निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

फाइल तस्बिर

यो वर्ष दुई लाख बढी भक्तजन बर माग्ने मेलामा सहभागी हुने अपेक्षा गरिएको छ । गत वर्ष मेला अबधिमा मात्र २१ लाख बढी भेटी तथा अन्य जिन्सी सामग्री दान सङ्कलन भएको थियो । मेला भव्य रूपमा संचालन गर्न सबै तयारी पूरा भएकाे वडा अध्यक्ष तुलबहादुर आलेले बताउनुभयाे ।

मन्दिरसम्म सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डमा पर्ने झुम्सा जडिबुटी चोकबाट गाडीमा जान सकिन्छ भने चैबिसमाइल, पानीमिल लगायतका स्थानबाट २ घण्टाको पैदल यात्रामा मन्दिर सम्म पुग्न सकिन्छ ।

Comments

ताजा खबर