महेन्द्र रत्न माविको भुतपूर्व विद्यार्थी समाजको अध्यक्षमा पुनः पोखरेल

२०८०, २२ भाद्र शुक्रबार ११:२३

बिर्तामोड। महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी , बिर्ताबजारको भुतपूर्व विद्यार्थी समाजको प्रथम साधारणसभा तथा अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेशनले राजकुमार पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

२०७९ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको समाजको तदर्थ समितिलाई नै आगामी दुई वर्षको लागि पुनः सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएकोछ ।

तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्ष मदन गोपाल सुब्बा, सचिव मोहन शिवाकोटी र कोषाध्यक्ष बिष्णुमाया मैनाली रहेका छन् । सदस्यहरुमा काजी बुढाथोकी, डा. लक्ष्मीप्रसाद मैनाली,  बिनोद गौतम, केशव प्रसाईं, रुपक गोदार थापा, कमलराज विमली, बेदप्रकाश न्यौपाने, वीरबहादुर दर्नाल, ईन्द्रसिंह राजवंशी, नरेश न्यौपाने र लिला अनमोल उप्रेती रहेको निर्वाचन समिति सदस्य युवराज कट्टेलले बताए ।

कार्यक्रममा राजकुमार पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने मदन गोपाल सुब्बाले सहभागीलाई स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यता प्रष्ट्याएका थिए ।

विद्यालयका प्रधानाध्यापक  खड्गप्रसाद खरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेडाई, पूर्व विद्यार्थीका तर्फबाट गोपीकृष्ण प्रसाईं र उमा शिवाकोटीले आफ्नो भनाई राखेका थिए भने ध्रुव ओलीले पूर्व विध्यार्थीहरुको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा समाजलाई विभिन्न माध्यमबाट  सहयोग पुर्याउने संस्था तथा ब्यक्तिलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा महेन्द्र रत्न उमावि, श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी र तदर्थ समिति सदस्य नरेशकुमार न्यौपानेलाई सम्मान गरिएको थियो ।

निर्वाचन समितिका संयोजक खड्गप्रसाद खरेलका अनुसार उपस्थित आजिवन सदस्यहरुको सर्वसम्मतिमा मौजुदा तदर्थ समितिलाई नै बाँकी रहेका योजनाहरु पूरा गर्न थप सहयोग मिलोस भन्ने उद्धेश्यले आगामी कार्यकालका लागि चयन गरिएको छ ।

समाजले तदर्थ रहेकै बेला विद्यालयकी सेवा निवृत्त गुरुआमा नीरा प्रधानको जन्मोत्सव कार्यक्रम, २०७९ र ८० को गुरु पूर्णिमाको अवसरमा जेष्ठ गुरुहरु तथा दुई जना पूर्व कर्मचारी जसबहादुर राई र उनकी श्रीमती ज्ञानु राईलाई सम्मान गरेको छ ।

समाजले देश विदेशमा रहेका पूर्व विध्यार्थीहरुबाटको स्वतस्फुर्त आर्थिक सहयोगमा अक्षयकोषको स्थापनाको कार्य निरन्तर गरिरहेको छ भने  सबै पूर्व विध्यार्थीहरुलाई आजिवन सदस्य लिएर अक्षयकोष वृद्धिमा सहयोग गर्नसमेत आव्हान गरेको छ ।

झापा जिल्लाकै एक नमुना विद्यालय निर्माणमा सहयोग पुर्याउने समाजको भिजन रहेको अध्यक्ष पोखरेलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कार्यक्रममा विद्यालयकै पहिलो र एसएलसी समुह २०२७ का पहिलो विद्यार्थी हरीप्रसाद पोखरेल, पूर्व विद्यार्थी तथा श्री २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापालगायतको आतिथ्य रहेको थियो ।

तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र  विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । संचालन मोहन शिवाकोटीले गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु