स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको आजै दाहसंस्कार

२०८०, २१ भाद्र बिहीबार १८:३६

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आजै पशुपतिमा दाहसंस्कार गरिने भएको छ ।

डेंगु संक्रमणका कारण उपचारको क्रममा विहिबार विहान निधन भएका वडा अध्यक्ष रिजालको आज अपराहन्न २: ३० बजे पशुपतिमा दाहसंस्कार गरिने नेपाली काँग्रेसले जानकारी दिएको छ । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने र १२: ३० देखि १: ३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने कांग्रेसले जनाएको छ ।

वि.सं. २०२७ मा जन्मिएका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए ।

स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ ।

रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याउनु भएको सत्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, दिवंगत  आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु