बाह्रबिसे सिन्धुपाल्चोकमा कलाकार जयनन्द लामाको सालिक स्थापना

२०७९, १४ फाल्गुन आईतवार २०:०२

काठमाडौँ – अभिनेता तथा गायक जयनन्द लामाको स्मृतिमा सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ। जयनन्द लामा स्मृति कोषले १२ फिट अग्लो सालिकलाई आठ लाख रुपैयाँ खर्चमा निर्माण गरेको हो।

कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशकी सदस्य मसिना खड्काले सालिक अनावरण गरेका हुन्। उक्त अवसरमा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ पनि उपस्थित थिए।

कोषका सदस्य प्रेम दोङले सालिक वरपर संग्रहालय र कम्पाउन्ड बनाउने तयारीसहित २५ लाख बराबरको योजना बनाइरहेको बताए। नगरपालिकाको ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाको १ लाख र स्थानीय गाउँले मिलेर बाँकी रकम जुटाएका थिए।

लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ। गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि–१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए। नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए। पहिलो क्यासेट एल्बम निकाल्ने गायकसमेत जयनन्द नै थिए। उनले दुई सय बढी गीत गाएका छन्।

पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशनसमेत जयनन्दले गरेका थिए। उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन्। उनले गायन रियालिटी शो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु