बगनासकाली गाउपालिकाको एकीकृत घुम्ती शिविर सम्पन्न

२०७९, २५ माघ बुधबार १५:११

पाल्पा । बगनासकाली गाउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । पालिकाका ९ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । बगनासकालीका बिभिन्न वडाहरुमा माघ १३ गतेदेखि २२ गतेसम्म शिविर चलेको थियो । जसमा पालिकाभित्र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३ हजार १ सय ९ जना रहेकोमा यो घुम्ती शिविरबाट १ हजार ५ सय २५ जनाले सेवा लिएको गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । यसअघि नेपाल बैंक मार्फत वितरण हुदै आएको सामाजिक सुरक्षाभत्ता नेपाल बैंकसगको सहकार्यमा वडाबाटै वितरण गरिएको हो । यसबाट लाभग्रँही खुशी भएका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण शिविर पनि चलाइएको थियो । जसमा ९ वटा वडामा गरि ९ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै आर्युवेद स्वास्थ्य जाचतर्फ ९ सय ६५ जनाले लाभ लिएका छन् । पालिकाले यसपटक हरेक वडामा कृषि प्रदर्शनी समेत गरेको छ । प्रर्दशनीमा किसानहरुले आफ्ना उत्पादनहरु प्रदर्शनीका लागि ल्याएको थिए । उनीहरुलाई प्रथम, द्धितिय र तृतीय तथा सान्त्वना गरि पुरस्कृत समेत गरिएको छ । उत्कृष्ट किसानहरुलाई बिउ बिजन समेत वितरण गरिएको छ । कृषि प्रदर्शनीमा ४ सय ६ जना किसानले आफ्नो उत्पादन प्रदर्शनीका लागि ल्याएका थिए । त्यस्तै पशुसेवा अन्तरगत ८ सय ५८ जना किसानले सेवा लिएका छन् । त्यस्तै बिभिन्न वडाहरुमा गरि ३२ जनालाई गरिव परिचयपत्र वितरण गरिएको गाउपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । त्यस्तै २ सय ३९ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

आफूहरुले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार यसरी वडावडामा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि यसै गरि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको चिदीले बताउनुभयो । जनताको सच्चा प्रतिनिधिको रुपमा आफूहरु लागिपरेको र जनताको दुःखसुखमा आगामी दिनमा पनि यसैगरि नै लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । पालिकाले यसअघि ३ महिना अघि पनि यसैगरि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । त्यस्तै वडा वडामै पुगेर योजना सम्झौताको काम समेत सम्पन्न गरिसकेको छ । यसले सानो कामका लागि पनि पालिका आउनुपर्ने सेवाग्राहीको समस्या सहज रुपमा समाधान भएको उहाको भनाई छ ।

गाउपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले हरेक वडाहरुमा आफू जनप्रतिनिधिहरू समेत पुगेर जनताको समस्याहरु टिपोट गरेको, तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्वोधन गरिएको र अन्य समस्यालाई बिस्तारै सम्वोधन गर्दै जाने उपाध्यक्ष पाठकले बताउनुभयो । यो एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले पनि आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि थप उत्साही बनाएको उपाध्यक्ष पाठकले बताउनुभयो ।

Comments

ताजा खबर