काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भएका छन् ।
गठबन्धनको बागी उम्मेदवार कायमै
आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी)ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।
यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।
यस्तै, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी कायमै छ ।