परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने

२०७९, २० श्रावण शुक्रबार १५:२८

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने उल्लेख गरिन् ।

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेण्डाहरु पनि तय भईरहेको र भ्रमण सम्पन्‍न नभई ती विषयहरु सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताइन् । प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्‍न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको टिप्पणी गरिन् । उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराइन् ।

अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् ।

परराष्ट्र मन्त्रालयले नेपाल-चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु