खुटिया खोलाको पुल जोखिममा

२०७९, १९ श्रावण बिहीबार ०८:३२

कैलाली: लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल जोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्‍न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको हो ।

पुलको दक्षिणतर्फ करिब १०० मिटर कटप पानीले बगाउँदा पुल नै जोखिममा परेको स्थानीयले बताएका छन् । यसअघि कटपवाल ४० मिटर मात्रै बगाउँदा सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको थियो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले त्यसबेला आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने बताए । कटपवाल तत्काल मर्मतका लागि जनशक्ति परिचालनसमेत गर्ने उनले बताए ।

तर, समयमानै मर्मत नगर्दा थप ६० मिटर कटपवाल बगाउनुका साथै नदी नियन्त्रणका लागि लगाइएको ढुंगाको जाली समेत बगाउने स्थितिमा पुगेको स्थानीय बासिन्दा करण बोगटीले बताए ।

स्थानीय बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । उनले जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको गुनासो गरे ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख सुवेदीले बर्षात्को समय भएको र त्यसका लागि बजेट समेत भएको बताउदै बर्षापछि मर्मत गरिने बताए ।

Comments

ताजा खबर