बगनासकालीकाे वार्षिक प्रगति समिक्षा

२०७९, १९ श्रावण बिहीबार ०८:५३

शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको छ

पाल्पा, १८ साउन ।

बगनासकाली गाउँपालिकाले वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८,०७९ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरूको प्रगति, चुनौति, प्रभाव र समस्याहरूको समिक्षा गरिएको हो । कार्यक्रममा १० वटा स्वास्थ्य संस्था, ९ वटा वडा कार्यालय र गाउँ कार्यपालिकाको कार्यालयका १४ वटा विभिन्न विषयगत शाखाको गरी ३३ वटा शाखाले आआफ्नो शाखाबाट वर्षभरिमा सम्पन्न भएका कार्यक्रमको समिक्षा गरेका गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले वार्षिक शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । यस्तैगरी नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ । गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको जनाएको छ ।

पालिकाको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ गरी ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति भएको आर्थिक प्रशासन शाखा प्रमुख कोशल पौडेलले बताउनुभयो । पौडेलका अनुसार गत आर्थिक वर्षमा चालुतर्फ ८९ दशमलव ५४ र पूँजीगततर्फ ८१ दशमलव ९२ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक सहायता रकम विश्वसनीय बनाउन नसकिएको, आवश्यक कागजात पूरा नगरी भुक्तानी माग गर्ने र बेलैमा सम्झौता गरेपनि भुक्तानीको लागि असार कुर्ने प्रचलनले वित्तीय कार्यसम्पादनमा प्रभावकारी बनाउन नसकिएको पौडेले औंल्याउनुभयो ।

गाउँपालिकामा वर्षभरिमा ४२२ वटा योजनाहरू संचालन भएको र १७ किलोमिटर सडक कालोपत्रे गरेको १५ शैयाको अस्पताल र प्रशासनिक भवनको कामथालनी भएको जनाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने मानिसको कमी भएका कारण योजनाहरूलाई पारदर्शी र प्रभावकारी बनाउन नसकिएको समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य संस्था, २८ गाउँघर क्लिनिक र २५ वटा खोप क्लिनिकबाट पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधिवितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले औंल्याउनुभयो । उहाँले स्वास्थ्य शाखातर्फ ६३ जना कर्मचारी, ७७ स्वयम्सेविकाबाट समुदायमा सेवा प्रभाव भएको जानकारी दिनुभयो । गाउँपालिकामा पछिल्लो समय कडा खालका दीर्घरोगीको संख्या बढ्दो रहेकोले स्वास्थ्य सेवा तर्फ थप चुनौति थपिएको अधिकारीको भनाई छ ।

समिक्षा कार्यक्रमा रोजगार शाखा, राजस्व शाखा, कृषि, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पशुसेवा, महिला तथा बालबालिका, गरिवि निवारणका लागि लघुउद्यम, सूचनाप्रविधि, जिन्सी शाखाले आ आफ्नो वार्षिक प्रगति पेश गर्नुभएको थियो । गाउँपालिकमा आ.व.२०७८।०७९ मा बसाई सराईको संख्यामा वृद्धि भएको, कृषि, पशुसेवा तर्फ मागमा आधारित कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन गर्न नसकिएको र पशु सेवा प्राविधिकको जनशक्ति कमी भएको जनाइएको थियो ।
गाउँपालिका अध्यक्ष सस्स्वती चिदी दर्लामीले समग्रमा आर्थिक बर्ष २०७८÷०७९ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो । चिदीले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साझा साथ रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यवस्थित ढङ्गले योजना बनाएर परिणाम देखिनेगरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाको समृद्धिको लागि सवैले हातेमालो गरेर स्थानीय सरकारको अनुभूति दिनेगरी कार्यसम्पादनमा लाग्न पाठकले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिस्णु घर्तीले प्रगति समिक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पु¥याउने भएकोले पालिकाले समिक्षा कार्यक्रमलाई नियमित गर्दै आएको बताउनुभयो । उहाँले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै वार्षिक कार्ययोजना बनाएर चालु आर्थिक वर्षका गतिविधिहरू अगाडि बढाउन कर्मचारी र जनप्रतिनिधको सहकार्यमा प्रतिवद्ध रहेको जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, पत्रकार महासघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, बगनासकाली पत्रकार समुहका नेत्र गैरे लगाएतले जनप्रतिनिधि र कर्मचारी सहितको साझा बसाई उपलब्धिमूलक र सार्थक रहेको बताउनुभयो । वार्षिक प्रगति समिक्षा बैठकमा वडा अध्यक्षहरू, वडा सदस्यहरू कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
समिक्षा कार्यक्रमकै सन्दर्भ पारेर वर्षभरिमा राजस्व सङ्कलनमा उत्कृष्ट वडाहरू वडा नं. २ र १ लाइ सम्मान गरिएको थियो । गाउँपालिका स्थापनादेखि हालसम्मका कानुन संग्रह २०७९ को सार्वजनिक गरिएको थियो । समिक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता, प्रशासन शाखा प्रमुख सुजन घिमिरे र स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा चलेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु