महानगर मेयर सम्मेलन पोखरामा सुरु

२०७९, १३ श्रावण शुक्रबार २१:२३

पोखरा: प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । सराङकोटस्थित माउन्टेन लजमा २ दिनसम्म चल्ने सम्मेलनमा मेयर, उपमेयर एवं प्रमुख प्रशासकीय अधिकृत भेला भएका छन् ।

महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि राखिएको कार्यक्रममा पत्रकार लगायत जनप्रतिनिधिहरुलाई प्रवेश नदिएको पोखराका मेयर धनराज आचार्यले बताए । सहभागीहरुलाई पोखरा लेकसाइडस्थित होटल वाराहीमा स्वागत कार्यक्रम राखिएको थियो । स्वागत पश्चात् बोल्दै मेयर आचार्यले आफूहरु पहिलो चरणको छलफल कै क्रममा रहेको र हल सानो भएकाले पत्रकार लगायत जनप्रतिनिधि कसैलाई पनि प्रवेश नदिएको जानकारी गराएका थिए । आफूहरुको छलफल सकिएपछि घोषणापत्रका बारेमा आइतबार बिहान पत्रकार सम्मेलन गरी जानकारी दिने उनको भनाइ थियो ।

काठमाडौँका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् । वीरगञ्जका मेयर राजेशमान सिंह र बिराटनगरकी उपमेयर इन्दिरा कार्की भने पोखरा आइपुगेकी छैनन् ।

वीरगञ्जका मेयर सिंह बिहीबार नै पोखरा आएपनि पारिवारिक समस्याका कारण शुक्रबार वीरगञ्ज फर्किएका हुन् । सिंह शनिबारको छलफलमा उपस्थित हुने पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

मेयर सम्मेलनमा सहभागी हुन पोखरा आएका मेयर तथा उपमेयरहरू पोखरामा भएको दोहोरी प्रतियोगितामा पनि गएका थिए । उनीहरुलाई आयोजक स्व. कल्याण शेरचन स्मृति प्रतिष्ठानले स्वागत गरेको थियो ।

पोखरामा हुने सम्मेलनमा संघीयता, महानगर र अबको बाटोबारे राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ । यस्तै, पोखरा, काठमाडौँ, बिराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्ने छन् । महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्ने जनाइएको छ ।

दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्ने छन् । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुनेछ । सम्मेलन पोखरा घोषणा पत्र जारी सँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु