बजेटलाई सहयोग पुग्‍ने गरेर मौद्रिक नीति आएको छ

२०७९, ९ श्रावण सोमबार ०५:३८

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले मुलुकले धान्‍न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताउए । उनले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरुमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिनपनि आग्रह गरे । उनले उद्योगी, व्यवसायीहरुले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गरे । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

उनले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरु, उपलब्ध गराउन सरकार सधैँ प्रतिवद्ध रहेको स्पष्ट पार्दै मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास बिना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गरे । उनले निजी क्षेत्रको बलियो संलग्नता बिना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन नसकिने भन्दै यसलाई आत्मसाथ गरी निजी क्षेत्रलाई उचित वातावरणको लगानी गराउने, सरल र सहज रुपमा उद्यम, व्यापार सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न कानुनी, नीतिगत र संस्थागत सुधार गर्दै आइरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताए । उनले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासी जन्य उद्योगको विकासको लागि सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए । प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासी जन्य उद्योगको विकासमा लाग्न उद्योगीहरुसँग आग्रह गरे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु