पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग

२०७९, ४ श्रावण बुधबार १३:२२

ताप्लेजुङ: किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । सदरमुकाम फुङलिङमास्थित पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले जबरजस्ती केबलकार निर्माण नगर्न माग गरिन् ।

नगरपालिकाले केबलकार निर्माणको म्याद थप गरिदिएपछि चुम्लुङ र संघर्ष समितिले विज्ञप्ति जारी गर्दै यदि केबलकार निर्माण गरिए आफूहरू त्यसको विरोधमा उत्रिने जनाएका छन् । उनीहरूले याक्थुङ लिम्बूहरूको मुन्धुमी पवित्र स्थल भएको र केबलकार निर्माण गर्नाले पर्यावरणमा समेत गम्भीर असर पर्ने भएकाले निर्माण गर्नु उपयुक्त नहुने दाबी गर्दै आएका छन् ।

नगरपालिकाले असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाको निर्णय राजपत्रमा प्रकाशित भएपछि असार ३० गते पाथीभरा माता केबलकार कम्पनीले म्याद थप गरेको हो ।

२०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना नभएकाले संशोधन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उक्त कार्यविधिमा चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु