वैदेशिक रोजगार, गरिबी र अशिक्षाका कारण सम्बन्धविच्छेद बढ्दै

२०७९, ४ श्रावण बुधबार ११:१६

दाङ: दाङमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालतमा परेका ४ हजार ७ सय ९९ मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका १ हजार ३ सय ७९ मुद्दा छन् ।

गत वर्षबाट जिम्मेवारी सरी आएका ३ सय ४१ र यस वर्ष दर्ता भएका १ हजार ३८ मुद्दा रहेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यलाल भण्डारीले बताए । तीमध्ये यस वर्ष १ हजार ३१ मुद्दा टुंगिएको र अझै ३ सय ४८ मुद्दा बाँकी रहेको उनले जानकारी दिए ।
वैदेशिक रोजगार, गरिबी र अशिक्षाका कारण सम्बन्धविच्छेद बढिरहेको जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले बताए । ‘सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी परेका छन् । हरेक वर्ष यो समस्या देखिइरहेको छ,’ उनले भने, ‘हामी सकभर घर–परिवार नटुक्रियोस् भन्ने चाहन्छौं । मिलापत्रका लागि पठाउँछौं तैपनि सम्बन्ध विच्छेद गर्न राजी भएपछि गर्नैपर्ने हुन्छ ।’ कतिपय घटनामा सम्बन्धविच्छेद गर्दा नै एकअर्कालाई सुरक्षा र सहज हुने अबस्था हुने गरेको उनले बताए । ‘रातदिन कुटपिट गर्ने, खानलाउन नदिने, यातना दिने गरेका घटनामा बरू केही सम्पत्ति चाहिंदैन, छोराछोरी म नै पाल्छु, एक्लै बस्दा नै राम्रो हुन्छ भन्छन्,’ थापाले भने ।

सम्बन्धविच्छेदका मुद्दा फिर्ता लिने संख्या भने निकै कम रहेको उनले बताए । तीन वर्षको कार्यकालमा तीनवटा जोडीको मात्रै मुद्दा फिर्ता भएको उनले जानकारी दिए । सम्बन्ध विच्छेदलगायत अन्य मिल्न सकिने मुद्दामा पनि मेलमिलाप गर्न प्रोत्साहन गर्ने गरेको थापाले बताए । यस वर्ष ८ सय ९ मुद्दा मेलमिलापका लागि पठाएकामा १ सय ५६ मा मिलापत्र भएको र ५ सय ६३ असफल भएको उनले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु