उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने-सभामुख

२०७९, २ श्रावण सोमबार १४:३७

काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।

संसद्‍का गतिविधिलाई लिएर सभामुख सापकाेटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेकाे बताए ।
‘याे बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो याेग्यताकाे परख गर्ने वातावरण बनेको थिएन ।’ सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेकाे पनि बताए ।

यसबीचमा मन्त्री हेरफेर हुँदा पनि विधेयक पारित हुन नसकेको सभामुख सापकोटाकाे भनाइ थियाे । ‘यसबीचमा मन्त्री हेरफेरले १-२ विधेयक पास भइसक्थे तर हुन सकेन,’ उनले भने । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ-आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेकाे थियाे । जसका कारण सदनमा सम्बन्धित मन्त्रामन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् ।

सभामुख सापकोटाले उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने बताए । उपसभामुखमा पुष्पा भुसालले आइतबार मात्रै पदभार सम्हालेकी थिइन् ।

Comments

ताजा खबर