तपाईँलाई हतार भए जाँदै गर्नुहोस्, म बिस्तारै मेरा कुरा राख्छु-रामचन्द्र

२०७९, २८ असार मंगलवार २२:००

काठमाडौँ: नेपाली कांग्रेसमा ६ महिनाअघिसम्म जब रामचन्द्र पौडेलको बोल्ने पालो आउँथ्यो, सभापति शेरबहादुर देउवाको असहजता सुरू हुन्थ्यो । पार्टी र सत्ताका सवालमा पौडेलले देउवामाथि पेचिला प्रश्न उठाउँथे, देउवा झोक्किन्थे, र तत्कालै जवाफ फर्काउँथे । तर, महाधिवेशनपछि देउवा–पौडेलबीच त्यस्तो सवाल जवाफ देख्न पाइँदैन ।

पौडेलको बोल्ने पालो आउँदा देउवा आत्तिँदैनन् अचेल, बरू सहजता महसुस गर्छन् । १४ औँ महाधिवेशनपछि पौडेल देउवाको सहयोगीका रुपमै प्रस्तुत हुने गरेका छन् ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले त्यस्तै भाव देखाए । बैठकमा बोल्ने केन्द्रीय सदस्यका लागि तोकिएको समय ५ मिनेट मात्रै हो । तर, पौडेलका लागि त्यो समय सीमा थिएन । मंगलबारको अन्तिम वक्ताको रुपमा साँझको ५ बजेपछि पौडेलले बोल्न थाले । देउवाले सुनिरहेकै थिए ।

नेताहरूका अनुसार देउवाले ६ बजे बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको समय दिएका थिए । तर, देउवा भने बैठकमा पौडेल बोल्दै गर्दा छोडेर हिड्न तयार थिएनन् ।

यो केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा माहोल बनाउने देउवाको ध्येय छ । बैठकमा पौडेलले त्यही कुरा प्रष्टसँग राखिदिए ।

‘गठबन्धनलाई धेरै गाली नगर्नुस् । अहिले जे परिणाम प्राप्त भएको छ, यो गठबन्धनकै फल हो,’ बैठकमा पौडेलले भनेका थिए, ‘आगामी निर्वाचनमा पनि गठबन्धन गर्नुको विकल्प छैन, अहिलेको प्रतिष्पर्धा कांग्रेस र कम्युनिष्टको होइन, स्थायित्व चाहने र नचाहनेका बीचको हो ।’

बिगतमा पाइलैपिच्छे बिधिपद्धतिका कुरा गर्ने पौडेलले मंगलबारको बैठकमा पार्टी सञ्चालनका विषयमा समेत सरल अभिव्यक्ति दिए, जसले देउवालाई खुसी दिलाउँथ्यो । ‘पार्टीलाई विधिअनुसार चलाउनुपर्छ । सभापतिजीले ब्यस्त भएर कतिपय काम गर्न भ्याउनु भएको छैन, त्यस्ता कामहरू अब छिटो-छिटो गरेर अघि बढ्नुपर्छ,’ पौडेलले भनेका थिए ।

त्यहीबेला पौडेलले बोल्दा–बोल्दै देउवाले रोके । र, देउवाले भने, ‘रामचन्द्रजी तपाईँ छिटो बोल्नुस् ।’ पौडेलले भने आफ्नो बोली रोक्ने सुर देखाएनन् । बरु उल्टै देउवालाई हतार भए जान सुझाव दिए ।

‘तपाईँलाई हतार भए जाँदै गर्नुहोस्, म बिस्तारै मेरा कुरा राख्छु,’ जवाफमा पौडेलले भनेका थिए । विगतका बैठकमा देउवा–पौडेलबीच संवाद तिक्ततापूर्ण हुन्थे, अहिले मित्रतापूर्ण छन् । कतिपय नेताहरू त विगतका त्यस्ता दृश्य ‘मिस’ गर्छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर भन्छन्, ‘रामचन्द्र दाई पहिले प्रतिस्पर्धीको रुपमा हुनुहुन्थ्यो, अहिले सहयोगीको रुपमा हुनुहुन्छ । त्यसैले बैठकमा रोचक घोचक भन्ने दृश्य नै रहँदैनन् ।’ पार्टीभित्र अहिले देउवाविरुद्वको बोली धेरै मत्थर रहेको उनको ठम्याइ छ । ‘प्रतिपक्ष धेरै कमजोर भएको महसुस हुन्छ । एकलौटी जस्तै छ,’ उनी भन्छन्, ‘प्रतिपक्ष कमजोर भएपछि पार्टीभित्रको ‘चेक एण्ड ब्यालेन्स’ नमिल्ने रहेछ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु